रुसलाई क्राइमियासँग जोड्ने पुल विस्फोटपछि आंशिक रूपमा खुला



रुसलाई क्राइमियासँग जोड्ने एकमात्र रेल तथा सडक पुलमार्गमा शनिवार भएको विस्फोटबारे रुसी गोताखोरहरूले पूर्ण जाँच शुरू गरेका छन् । उक्त पुलमा अहिले सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ र राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्ण अनुसन्धान गर्न आदेश दिएका छन् ।

ठूलो विस्फोट भएको भोलिपल्ट पुलमार्ग आइतबारबाट आंशिक रूपमा खुलेको छ । युरोपकै सबैभन्दा लामो पुलमा भएको विस्फोटमा तीन जनाको ज्यान गएको अनुसन्धानकर्ताहरूले बताएका छन् । रुसले सन् २०१४ मा क्राइमियालाई युक्रेनबाट खोसेर आफूमा गाभेको प्रतीकको रूपमा उक्त पुललाई लिने गरेको छ ।


केर्च पुलमार्गलाई रुसी राष्ट्रपति पुटिनले सन् २०१८ मा उद्घाटन गरेका थिए । रुसी अधिकारीहरूका दाबीअनुसार उक्त पुलमा एउटा लरी विस्फोट गराएका बेला त्यहाँ एउटा कारमा रहेका मानिसहरू मारिएका हुन् । रेल गुड्ने पुलमार्ग पनि आंशिक रूपमा खुलेको बताइएको छ। सो खण्डमा तेल ट्याङ्करहरूमा आगलागी भएको थियो ।

शनिवार साँझ रुसी विदेश मन्त्रालयले एउटा भिडियो प्रकाशित गरेको छ जसअनुसार पुलमार्गमा कारहरू गुडिरहेको देखिन्छ । सन् २०१८ मा खुला गरिएको उक्त रेल तथा सडक पुलमार्ग युक्रेनमा रुसी अतिक्रमणका लागि एउटा महत्वपूर्ण आपूर्ति मार्गको रूपमा रहेको छ ।

दक्षिणी युक्रेनमा युद्धमैदानमा सेना तथा सैनिक बन्दोबस्तीका सामान ओसार्न रुसले त्यो मार्गलाई प्रयोग गर्दै आएको छ । युक्रेनी रक्षा मन्त्रालयले पुलमा भएको विस्फोटलाई गत अप्रिलमा रुसी युद्धपोत मस्कभा डुबेको घटनासँग तुलना गरेको छ ।

मस्कोद्वारा नियुक्त क्राइमियाका गभर्नरले विस्फोट गराएर बदला लिने चाहना देखिए पनि घटनाका कारण अभाव सिर्जना नहुने टिप्पणी गरेका छन्।