रुपन्देही–२ मा जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने सत्ता गठबन्धनको निर्णय



काठमाडौँ । सत्तारुढ गठबन्धनले रुपन्देही–२ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन गर्ने भएको छ । गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि केशवबहादुरलाई गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पाँच दलीय सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गरी थापालाई गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।


को हुन् केशवबहादुर थापा ?

रुपन्देही क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवार बनेका केशवबहादुर थापा मगर गठबन्धनका साझा उम्मेदवार बनेका छन् । सो पार्टीका कार्यकारी अध्यक्ष रहेका उनी केशव सूर्यवंशी मगरको नामले समेत चिनिन्छन् ।

जनमुक्तिका केन्द्रीय अध्यक्ष केपी पालुंगा इलाममा एमाले उपाध्यक्ष सुवास नेम्वाङको क्षेत्रमा उम्मेदवार छन् । पार्टीमा पालुंगापछि दोस्रो नेता कार्यकारी अध्यक्ष केशव रुपन्देही–२ मा एमालेका उपाध्यक्ष पौडेलसँग अब चुनावी मैदानमा भिड्ने छन् । रुपन्देही–२ राष्ट्रिय जनमुक्ति पार्टीको राम्रो पकड भएको क्षेत्र मानिन्छ ।