रुपन्देहीमा पत्रकार महासङ्घले सदस्य शुद्धीकरण अभियान सञ्चालन गर्ने



बुटवल । नेपाल पत्रकार महासङ्घ रूपन्देही शाखाले सदस्य शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त शाखाको आइतबार बुटवलमा सम्पन्न साधारणसभाले पत्रकारिता पेशा छाडेकालाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धीकरण गर्ने प्रस्ताव पारित गरेको हो । यो प्रस्तावले  महासङ्घलाई सदस्य शुद्धीकरण गर्ने बाटो खुल्ला गरेको छ । 

कुनै समयमा सक्रिय पत्रकारिता गरेका तर पछिल्लो समय पत्रकारिता छाडेर अन्य पेशा तथा व्यवसायमा संलग्नलाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धीकरण अभियान चलाउने प्रस्ताव सर्वसम्मत पारित भएको हो । त्यस्तै बुटवलमा पत्रकारिता र आमसञ्चार विषयमा उच्च तहको शिक्षा अध्ययनका लागि पहल गर्ने र महासङ्घको अगुवाइमा ‘पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र’ स्थापनाका लागि स्थानीय सरकारसँग समन्वय गरी जग्गा व्यवस्था गर्ने प्रस्ताव पनि पारित भएको छ । साधारणसभाले सदस्य शुद्धीकरण, पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र स्थापनासहित १२ बुँदे प्रस्ताव पारित गरेको अध्यक्ष रामराज पोख्रेलले जानकारी गराए ।


महासङ्घका सचिव विनोद परियारका अनुसार सदस्य पत्रकारको तत्कालीन र दीर्घकालीन समस्या र स्वास्थ्योपचारमा सहयोग गर्नेगरी पत्रकार कल्याणकारी कोष वृद्धि गर्ने, पत्रकारको सुरक्षाका लागि दुर्घटना बीमालाई निरन्तरता दिँदै निःशुल्क स्वास्थ्य बीमाका लागि पहल गर्ने, पत्रकारिता पुरस्कारको राशि बढाउने र महिला पत्रकारिता कोष स्थापनाका लागि पहल गर्नेजस्ता प्रस्ताव पनि पारित भएका छन् ।