राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीद्वारा उम्मेदवारी दर्ता



बलेवा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बागलुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केसीले बागलुङ बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफैँ पुगेर आज अपराह्न उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गर्न उनी शनिबार नै बागलुङ आइपुगेका थिए ।

सङ्घीय संसद्का लागि अध्यक्ष केसीको मनोनयन दर्तामा कृष्ण अधिकारी प्रस्तावक र लक्ष्मी बाँस्कोटा समर्थक छन् । उनले पाँचदलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिएका हुन् । उनीसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को तर्फबाट निवर्तमान सांसद डा सूर्य पाठकले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।