राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई छठी माताको पूजा आराधना गरेकी छिन् । काठमाडौँ महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजास्थलमा पुगी उनले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरिन् ।

त्यसअघि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजा स्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधाना एवं अर्घ्यदान गरेकी थिइन् । अस्ताउँदो सूर्यको पूजा आराधना गर्न कमलपोखरीलाई झकिझकाउ पारिएको थियो । कमलपोखरीमा श्रद्धालु, बर्तालु र भक्तजनको बाक्लो उपस्थिति थियो ।


पूजा स्थलमा आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक, समाजसेवी, शिक्षा सेवी, उद्योगी व्यवसायीलाई सम्मान गरेकी थिइन् । पूजा स्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, पूर्व मन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो ।