पार्टीको अधिवेशनबाट तेस्रो कार्यकालका लागि पुनः शक्तिमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो नयाँ समूह चयन गरेका छन् ।
चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ चयन भएका छन् । प्रधानमन्त्री ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएपछि आइतबार नयाँ प्रधानमन्त्रीको घोषणा भएको हो ।
यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिबाट यसअघिका प्रधानमन्त्री ली सहित चार जना नेताहरू बाहिरिएका थिए ।
हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनबाट पार्टी महासचिव सँगै सात सदस्यीय स्थायी समिति र २५ सदस्य रहेको पोलिटब्यूरो चयन हुन्छन् । विगतको अभ्यास तोड्दै राष्ट्रपति सी जिन्पिङ तेस्रो कार्यकालका लागि पार्टी महासचिव छानिएका छन् ।
नयाँ चयन भएको पोलिटब्यूरोमा एक जना पनि महिला छैनन् । चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिको बाँकी सदस्यमा झाओ लेजी, वाङ हुनिङ, साई ची, दिङ सियासियाङ र ली सी चयन भएका छन् ।
जसमध्ये झाओ र वाङ मात्रै दोहोरिएका हुन् भने प्रधानमन्त्री ली सहित चार जना नयाँ सदस्य हुन् । स्थायी समितिबाट बाहिरिनेमा उपप्रधानमन्त्री हान झेन र चीनको नेशनल पीपल्स कङ्ग्रेसका अध्यक्ष ली चाङ्शू पनि छन् ।
नेपालका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चाङ्शू गत महिना नेपाल भ्रमणमा आएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको सल्लाहकार निकायका प्रमुख वाङ याङ पनि स्थायी समितिबाट बाहिरिएका छन् ।
राष्ट्रपति सी सँग निकट मानिने ६३ वर्षीय ली यसअघि उनको सचिवालयमा प्रमुखको रूपमा समेत काम गरेका थिए । चियाङ पार्टीको साङ्घाइ प्रमुख थिए र यसअघि उक्त सहरमा भएको दुई महिने लकडाउनमा उनले नेतृत्व गरेका थिए ।
स्टेट काउन्सिल भनिने चिनियाँ मन्त्रिपरिषद्को अनुभव नभएका लीलाई पार्टीमा एकै पटक केही तह बढुवा सहित प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । मन्त्रिपरिषद्को अनुभव नभएका कारण ली आफ्नो अधिकार प्रयोगका लागि राष्ट्रपति सीमा निर्भर रहनुपर्ने विश्लेषकहरूले बताएका छन् ।
यसअघिका प्रधानमन्त्री ली खछ्याङ स्थायी समितिमा राष्ट्रपति सीसँग समेत प्रतिवाद गर्न सक्थे । लीको बढुवाले चिनियाँ राजनीतिमा महत्वपूर्ण पुनर्संरचनाका साथै राष्ट्रपति सी मा थप शक्ति केन्द्रीकृत भएको देखाएको छ ।
आफ्नो नयाँ टोली सार्वजनिक गरेपछि सी ले चीनको विकासका लागि विश्व चाहिने र विश्वका लागि पनि चीन आवश्यक पर्ने बताएका छन् । सी ले डोर्याएको बाटोका कारण विश्व अर्थतन्त्रबाट चीन एक्लिएको चिन्ताबीच उनले यस्तो बताएका हुन् ।
आफूहरू आत्मविश्वासका साथ अघि बढिरहेको भन्दै उनले चीनलाई आधुनिक समाजवादी देश बनाउने वाचा गरेका छन् ।