मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौंडाको एक अस्पतालमा सिलबन्दी गरी बिहीबार कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
उक्त कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौंडा उपमहानगरपालिका–१ मा रहेको हेटौंडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो ।
उक्त अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको तथा अनुमतिबिना फार्मेसी तथा ल्याब सञ्चालन गरेकाले सिलबन्दी गरिएको कार्यालयले जनाएको छ ।
साथै अस्पतालले एनेस्थेसियोलोजिष्ट डाक्टर नराखी एनेस्थेसिया सहायकबाट बिरामीलाई बेहोस बनाएर मेजर शल्यक्रिया गर्दै आएकाले शल्यक्रिया नगर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिए ।
त्यस्तै अस्पतालमा मापदण्डअनुसार कर्मचारी नभेटिएको, फोहरमैला व्यवस्थापन नगरेको पाइएको सम्बन्धमा प्रशासनले सचेतसमेत गराएको जानकारी दिइएको छ ।
अधिकृत न्यौपानेको नेतृत्वमा खटिएको सो अनुगमन टोलीमा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं तथा जिल्ला जनस्वास्थ्य कार्यालयका ठाकुर पौडेललगायत सरोकारवाला संस्थाको सहभागिता रहको थियो ।
अस्पताल सञ्चालकलार्ई आवश्यक कागजातसहित १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।