माओवादी केन्द्रको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको शासकीय स्वरुप



काठमाडौँ । नेकपा माओवादी केन्द्रले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी मुख्य कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा माओवादी केन्द्रले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय समावेश गरेको बताइएको छ ।


माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै आएको भएपनि संविधान निर्माणको क्रममा सहमति खोज्नका लागि उसले संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री प्रणाली नै उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।

प्रतिबद्धतापत्रमा विशिष्ट पदाधिकारीहरुको सम्पत्ति छानविन गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्ने विषय समेटिएको छ । वेरोजगारी समस्या समाधान गर्न राष्ट्रिय रोजगार प्राधिकरण स्थापना गर्ने घोषणापत्रमा उल्लेख छ

। माओवादीले राजनीतिक आन्दोलनबाट प्राप्त व्यवस्था रक्षा र अवस्था परिवर्तन आफ्नो नेतृत्वमा मात्रै सम्भव भएको बताएको छ । माओवादी केन्द्रको नेतृत्वमा मात्र राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर जनताको जीवन फेर्नु र नयाँ नेपाल बनाउन आफ्नो नेतृत्वमा मात्रै सम्भव भएको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

प्रतिबद्धतापत्रमा भनिएको छ, ’नेपालको लोकतान्त्रिक क्रान्तिलाई आधारभूत रूपमा पूर्णता दिने राजनीतिक परिवर्तनका सबै जसो एजेन्डाहरू–गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय, समाजवाद उन्मुखता हाम्रो पार्टीले अघि सारेको, स्थापित गरेको र हासिल गर्न निर्णायक भूमिका खेलेको तथ्य घाम जतिकै छर्लङ्ग छ । हाम्रो पार्टीको नेतृत्वदायी मुख्य भूमिकाबाट नै उत्पीडित वर्ग, मजदुर, किसान, महिला, आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, भाषिक, सांस्कृतिक सीमान्तकृत एवं लोपोन्मुख समुदायको अधिकार र उपलब्धि सम्भव भएको हो । यस निम्ति हाम्रो पार्टी गौरव गर्दछ ।’