माओवादी अध्यक्ष दाहाल गोरखा–२ बाट चुनाव लड्ने



काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने भएका छन् ।

माओवादीको आज साँझ बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए । गोरखा क्षेत्र नं २ को प्रदेशसभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ । गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो ।


विसं २०६४ मा माओवादी नेता डा बाबुराम भट्टराई विजयी भएका थिए । यस्तै २०७० सालमा माओवादी केन्द्रका नेता हितराज पाण्डे सोही क्षेत्रबाट विजयी भएका थिए । विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको सहयोगमा डा भट्टराई पुनः निर्वाचित भएका थिए । डा भट्टराईले आसन्न निर्वाचनमा प्रतिस्पार्धा नगर्ने सार्वजनिक गरिसकेका छन् ।

अध्यक्ष दाहाल २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट विजयी भएका थिए । पदाधिकारी बैठकमा अध्यक्ष दाहालले सिट बाँडफाँटका बारेमा गठबन्धनमा भएको छलफलको व्रिफिङ गराएका थिए ।

अध्यक्ष दाहालले प्रतिनिधिसभातर्फ करिब ४७ सिट माओवादीले पाएको र अझै केही सिटको बाँडफाँट अन्तिम टुङ्गोमा पुग्न बाँकी रहेको जानकारी गराएको सचिव साहले जानकारी दिए । “बैठकमा अध्यक्ष दाहालले गठबन्धन बैठकमा भएको सिट बाँडफाँटका बारेमा जानकारी गराउनुभयो”, उनले भने ।