महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू



महाेत्तरी । महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि कर्फ्यू जारी गरिएको हाे ।

बिहीबार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभर झडप हुँदा अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले जानकारी दिए ।


उनका अनुसार आज बिहान करिब १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए। त्यसै क्रममा वडा नम्बर ८ स्थित पररियामा दुबै समूहबीच झडप भएको थियो । दुबैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै एक दर्जन व्यक्ति घाइते भएको डिएसपी यादवले बताए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो । 

भंगहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

दिउँसो ३ बजेबाट लगाइएको कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।