मधेस प्रदेशसभाको पाँच वर्ष : ५५ विधेयक पारित, नाम र राजधानीको टुङ्गो महत्वपूर्ण उपलब्धि



जनकपुरधाम ।मधेस प्रदेश प्रदेशसभाको पाँच वर्षको अवधिमा नौ वटा अधिवेशनबाट ५५ वटा विधेयक पारित भएका छन् ।

मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आज पाँच वर्षको उपलब्धिबारे जानकारी दिँदै प्रदेशसभाको नौ वटा अधिवेशनमा दुई सय २८ बैठक, तीन सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड सभा सञ्चालन भएको र प्रदेशसभामा दर्ता भएको ६१ वटा विधेयकमध्ये ५५ वटा पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भएको जानकारी दिए । उनले पारित हुन बाँकी छ विधेयक विचाराधीन अवस्थामा प्रदेशसभा सचिवालयमा रहेको बताए ।


प्रदेशसभाको पहिलो बैठकबाट प्रदेशसभा कार्य सञ्चालन आन्तरिक कार्यविधिको रूपमा ‘प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५’ पारित गरी सभाको सञ्चालन एवं कामकारबाही व्यवस्थित हुँदै आएको सभामुख यादवले जानकारी दिए । सभामुख यादवले विचाराधीनमध्ये पाँच विधेयक विभिन्न समितिमा छलफल गरी प्रतिवेदन सभामा पेश गर्ने अवस्थामा रहेको भए पनि नवौँ अधिवेशन अन्त्य भइसकेकाले उक्त प्रतिवेदन पेश हुन नसकेको जानकारी दिए । प्रदेशसभाले आफ्नो कामकारबाही व्यवस्थित गर्न सात विषयगत समिति गठन गर्नुका साथै समय समयमा विशेष समिति गठन गरी आफ्नो कामकारबाही प्रभावकारी रूपमा व्यवस्थित गर्दै आएको सभामुख यादवले दाबी गरे ।

प्रदेशसभाले सरकारको छ नीति तथा कार्यक्रम, छवटा बजेट र दुई पटक विश्वासको मतको सम्बन्धमा छलफल गरी निर्णय गर्नुका साथै यसै अवधिमा प्रदेशको राजधानी र नामको प्रस्ताव २०७८ माघ ३ गते दुई तिहाइभन्दा बढी मतले पारित भएको जानकारी दिए । सभामुख यादवले प्रदेशसभाको आफ्नो र सुविधा सम्पन्न भवन नभएका कारणले कोरोना महामारीपछि प्रदेशसभाको बैठकमा पत्रकार तथा सर्वसाधारणलाई प्रवेश गराउन नसकिएको स्वीकार गर्दै नयाँ भवनको निर्माण भएपछि सबै कुराको व्यवस्था हुने बताए ।

नेपालको संविधान जारी भएपछि २०७४ साल मङ्सिर १० र २१ गते सम्पन्न प्रदेशसभा निर्वाचनपश्चात् निर्वाचित भएका प्रदेशसभा सदस्यको २०७४ साल माघ ७ गते सपथ भएर सोही महिनाको २१ गते प्रदेशसभाको पहिलो बैठकबाट प्रदेशसभाको कार्य थालनी भएको सभामुख यादवले जानकारी दिए ।