भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै ओलीले भने-केही नेताहरुले टिकट नपाएकोमा रुवाबासी गर्नुपर्दैन



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।

शनिबार एमाले जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने छ र ? प्रश्न गरे ।


उनले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर यो अवसर अरुलाई दिइएको बताए । ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरु एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरुले फेरि टिकट नपाउनु स्वभाविक भएको उल्लेख गर्दै त्यसको पछि नलाग्न सिंगो पार्टी पंक्तिलाई आग्रह गरे ।

उनले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षामा आधारित हुने बताए । उनले भने, ‘केही नबुझेर केही बुझिबुझिकन फलानो व्यक्तिले किन पाएन ? दुई जना मान्छेका लागि । असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन् । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तिनैले खाएका छन्, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवा तथा खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाईरहनुपर्ने छ र ?’

अध्यक्ष ओलीले मंसीर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न सबैलाई आह्वान गरे । उनले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले परमादेशी सरकार बनाउने गम्भीर गल्ती विगतमा गरेपनि अब न्यायालयले त्यस्तो खालको गल्ती नगरोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताए ।