बेलायतको वित्तमन्त्रीमा जेरेमी हन्ट नियुक्त



बेलायतका पूर्व विदेशमन्त्री जेरेमी हन्टलाई बेलायतको वित्तमन्त्रीका रूपमा नियुक्त गरिएको डाउनिङ स्ट्रिटले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पचपन्न वर्षीय हन्टको नियुक्ति क्वासी क्वार्टेङको राजिनामापछि भएको हो । उनले आफ्नो मिनी बजेटका कारण बेलायती अर्थतन्त्रमा नकारात्मक प्रभाब देखिएको आरोपपछि राजीनामा दिएका हुन् ।

“तपाईंले मलाई वित्तमन्त्रीबाट राजिनामा दिन भन्नुभएको छ । मैले यसलाई स्वीकार गरेको छु,” क्वार्टेङले प्रधानमन्त्री लिज ट्रसलाई सम्बोधन गर्दै ट्वीटरमा लेखेको राजीनामामा भनेका छन् । क्वार्टेङको ३८ दिनको कार्यकाल इतिहासमै सबैभन्दा कम समय जिम्मेवारी सम्हाल्ने बेलायती अर्थमन्त्रीको रूपमा रेकर्ड भएको छ । गत महिना उहाँले प्रस्तुत गरेको मा विवादास्पद ऋण–वित्त पोषित कर कटौती समावेश मिनी बजेटलाई बेलायतको आर्थिक समस्याको लागि दोषी ठहराउँदै उनलाई पदबाट हट्न दवाव दिइएपछि उहाँको राजिनामा आएको हो ।


बेलायती मुद्रा (पाउण्ड) लाई अमेरिकी डलरको तुलनामा ३७ वर्षको सबैभन्दा कमजोर अवस्थामा पु¥याउन मिनी बजेटको भूमिका रहेको ठहर बेलायती अर्थतन्त्रका जानकारहरूले गरेका छन् । विश्लेषकहरूले बेलायतमा मूल्यमा सरकारी उधारो र विविध सेवाको दरहरूको लागतमा वृद्धि हुनुमा मिनी बजेटलाई दोषी ठहर गर्दै चर्को दबाबपछि क्वार्टेङले राजिनामा दिएका हुन् ।

उनले यसै महिनाको सुरुमा सबैभन्दा बढी कमाउनेहरुका लागि ४५ प्रतिशत आयकरको दर खारेज गर्ने योजनामा यू–टर्न (पुनः विचार) गरेका थिए । “मैले विगतका हप्ताहरूमा धेरै पटक भनिसकेको छु, यथास्थितिलाई पछ्याउनु कुनै विकल्प थिएन । लामो समयदेखि यो देश न्यून आर्थिक वृद्धिदर र उच्च करको चपेटामा परेको छ, यदि यो देश सफल हुने हो भने अझै पनि परिवर्तन हुनैपर्छ,’ उनले राजीनामामा भनेका छन्।