मकवानपुर । बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बसमा करिब ५० जना सवार थिए ।
नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बस सडकबाट तल खोलामा खसेको हो ।
दुर्घटना लगत्तै उद्धारमा परिचालित प्रहरी टोलीले घाइतेलाई विभिन्न अस्पतालमा लगेको थियो । चुरेहिल अस्पतालमा ९ जना लगिएकोमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौंडा अस्पतालमा लगिएका ३६ जनामध्ये १२ जनाको मृत्यु भएको छ भने हेटौंडा सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।