बारा दुर्घटनाका बालक भन्छन्– बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ



हेटाैँडा । जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालकसहित ३६ जना घाइते छन्।

उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन।


बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर बिहानै बाराको अमलेखगन्जमा रहेको घरमा पुग्न बिहान ५ बजे नै हेटौंडा बसपार्क पुगेका थिए। आफ्ना ४५ वर्षीय बुबा ललित पाख्रिनका साथ उनी बस कुर्दै थिए।

दसैंका कारण थोरै सवारी र त्यसमा पनि खचाखच भरिएर आएकाले ३/४ घन्टा बसपार्कमै कुर्नुपर्‍यो। धेरैपछि नारायणगढबाट वीरगन्जका लागि छुटेको बा ०६–००१ ख ०११० नम्बरको बस बसपार्कमा आइपुग्यो र पाख्रिनका बुबाछोरा चढे।

बस बीचबीचमा यात्रुहरू चढाउँदै चुरियामाई मन्दिरनजिक पुगेर रोकियो। त्यहाँ पनि चार जना यात्रु बस चढे। त्यसको केहीबेरमा नै अगाडिबाट ब्रेक फेल भयो भन्ने आवाज आएको उनले सुने। बस चढेका चार यात्रु बस्न नपाउँदै अगाडिबाट बसको ब्रेक फेल भयो भन्ने आवाज सुनिएको उनले बताए। 

टाउको र घुँडामा चोट लागेका बिरोज भन्छन्, ‘ब्रेक फेल भयो भन्ने सुनेँ। गाडी यताउता गर्दै गुड्यो। त्यसपछि म त बगरमा पुगेको रहेछु।’

गाडी पल्टेको थाहा नै नभएको बताउँदै उनी भन्छन्, ‘झसंग भएर बुबालाई हेरेको, देखिनँ। उहाँलाई मानिसहरूको चेपमा देखेँ। चार जना मान्छे हटाएर बुबालाई तानेर निकालेँ। बुबालाई थिचेका वरपरका अरू यात्रु भने चलमल गर्नुभएको थिएन। उहाँहरूको बीचबाट बुबाको हात बाहिर निस्केको देखेर चिनेँ।’ 

उनले बुबालाई बाहिर निकालेको केहो समयपछि प्रहरी आयो। प्रहरीको बसमा बुबासहित अरूलाई पनि हेटौंडाको अस्पतालमा ल्याएको बिरोज बताउँछन्। तर दुर्घटनाको कतिबेरपछि प्रहरी घटनास्थलमा पुग्यो भन्ने पत्तो नपाएको उनको भनाइ छ।

गम्भीर घाइते भएका कारण बिरोजका बुबा ललित पाख्रिनलाई भरतपुर लैजान एम्बुलेन्सको व्यपस्थापन गरिएको अस्पतालले जनाएको छ। उनका आफन्तहरू पनि सम्पर्कमा आएको उनले बताए।

त्यसैगरी अर्का घाइते ३५ वर्षीय बसचालक दिप्तनारायण ढकाल बसको ब्रेक फेल भएको थाहा पाएपछि बचाउने प्रयास गर्दागर्दै नसकेको बताउँछन्। उनी आफूले भने हामफालेर ज्यान जोगाएको बताए।

नारायणगढबाट हेटौंडा हुँदै वीरगन्जतर्फ गइरहेको बसमा यात्रु चढ्ने र झर्ने क्रम जारी रहेसँगै चुरियामाई मन्दिरमा पुग्दा मुसलधारे पानी परेको र त्यसलगत्तै बसको ब्रेक फेल भएको उनले बताए। ब्रेक फेल भएको गाडीलाई भित्तामा ठोक्काएर रोक्ने प्रयास गर्दागर्दै टाटासुमो, अटोरिक्सा र मोटरसाइकललाई छल्दै अघि बढ्दा भित्ता नभेटिएर दुर्घटना भएको उनको भनाइ छ। उक्त क्रममा पुल नजिकै पुग्दा बसलाई नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि आफू हामफाल्न बाध्य भएको उनले बताए।

बाराका १८ वर्षीय युवक आर्यन भोम्जनले पनि एक्कासी बस तीव्र गतिमा गुडेको थाहा पाएपछि डर लागेको र अगाडिबाट झाडीतिर हाल, भित्तातिर हाल भनेको आवाज सुनेको बताए। पछाडिको सीटमा रहेका उनी होसमा छँदा चिच्याएको आवाज सुनेको र पछि भने आफैंले होस नपाएको बताए। उनको हेटौंडास्थित चुरहिल अस्पतालमा उपचार भइरहेको छ। उनको हातको शल्यक्रियाको तयारी हुँदैछ।

बिहीबार बिहान करिब १० बजे जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए।