म्याङ्लुङ । चिमले बारेको घर । घरको छेउछाउ साना–साना बङ्गुरका खोर । त्यही खोरमा बङ्गुरको स्याहारसुसार व्यस्त भेटिन्छन् तेह्रथुमको म्याङलुङ – ३ कृषि टोल निवासी जोगबहादुर फागु । उनी ३० वर्ष अगाडि म्याङलुङमा नै रहेको गैह्रसरकारी संस्थामा काम गर्थे । संस्थामा काम गरिरहँदा पनि आफूलाई कृषि पेसा नै उत्तम लाग्ने गथ्र्यो फागुलाई ।
संस्थाको सुकिलोमुकिलो जागिर छोडेर अहिले उनी कृषि पेसामा रमाउन थालेका छन् । पहिलेदेखि कृषि पेसामा रुचि राख्ने फागुले २०५२ सालदेखि व्यावसायिक रुपमा बङ्गुर पाल्न थाले ।
दुई वटाबाट सुरु गरेको उनको फार्ममा अहिले ६० बङ्गुर छन् । उनले अहिले व्यावसायिक बङ्गुर पालनबाट आफ्नो जीवन गुजारा चलाउँदै आएका छन् । मेहनत गरेमा आफ्नै गाउँठाउँमा नै विभिन्न व्यवसाय गरेर विदेश वा जागिरमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उनी सबैका लागि उदाहरण बन्न थालेका छन् ।
उनले बङ्गुर पालेर नै आठ जनाको परिवार धान्दै आएका छन् । उनले भने, ‘बङगुर पालेर छोराछोरीलाई राम्रो शिक्षा दिएको छु, घरखर्च चलाउन सहज भएको छ । यसबाट वार्षिक रु पाँच लाख आम्दानी हुन्छ ।’
सानैदेखि बङ्गुरपालन गरेर आफ्नो जिन्दगी चलाउने उनको सोच थियो । आफू सानो हुँदा घरमा बङ्गुर पालेकाले आफूले यही पेसा गर्ने मनसाय राखेर बङ्गुुरपालन गरिरहेको फागुले बताए ।
विदेशमा गएर पनि धेरै मेहनत र पसिना नबगाइ हुदैन । धेरै दुःख पाइन्छ । भाषा बुझिँदैन त्यसैले आफ्नै देशमा पसिना बगाउनुपर्ने उनको धारणा छ । उनले भने, ‘विदेशमा माटो, पानी, बिरुवा सबै बाहिर देशबाट ल्याएर हराभरा बनाउछन् । हाम्रोमा त प्रकृतिले नै सबै थोक दिएको छ । अब कृषि र पशुपालन व्यवसायमा रुपान्तरण गर्न युवापुस्ताको खाँचो छ ।’
व्यावसायिक बङ्गुरपालन गर्न स्थानीय, प्रदेश सरकारले सहयोग गरोस भन्ने फागुको आशा छ । उनको व्यवसायलाई श्रीमतीले सघाउछन् । बङ्गुर पाल्न धेरै दुःख हुने गरेको श्रीमती भक्तिमायाले सुनाइन् ।