फलफुल खेतीबाट मनग्य आम्दानी



भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट मनग्य आम्दानी गरेका छन् । नेपालले व्यवसायीकरुपमा ड्रागन र कागती खेतीबाट वार्षिक रु बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । सुख्खा क्षेत्रमा पनि पर्याप्त उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यवसायिक खेती गरिरहेका छन् ।

एक दशकअघिदेखि व्यवसायीक खेती थालेका नेपालले एक हजार पाँच सय खम्बामा ड्रागन लगाएका छन् । अहिले तीन सय ओटा खम्बामा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ । हालसम्म ८५० किलो विक्री गरिसकेको र एक हजार किलोको हारहारीमा टिप्न बाँकी रहेको नेपालले जानकारी दिए ।


त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यवसायीक खेती गरिरहनु भएको छ । फलफूल खेतीबाट वार्षिक रु १२ लाखसम्म आम्दानी हुने गरेको नेपालले बताए । “फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु,” उनले भने, “सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ ।”

नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा करीब १७ रोपनी क्षेत्रफलमा डा«गन लगाएका छन् । ड्रागन फल रातो प्रतिकिलो रु पाँच सय र सेतो प्रतिकिलो रु चार सयमा विक्री हुने गरेको छ । त्यस्तै कागती फार्मबाट प्रतिकिलो रु एक सयमा विक्री हुने गरेको छ । यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडाँैसम्म विक्री हुन्छ ।

सडक असुविधाका कारण बजारसम्म पु¥याउन सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ । कच्ची सडक वर्षात्ले हिलाम्य हुँदा उत्पादित वस्तु बजारसम्म ढुवानी गर्न समस्या छ । “उत्पादन बढी मात्रामा काठमाडौँ पठाउने गरेको छु,” उनले भने,” बजार माग अत्यधिक छ । तर सडकका कारण बजारसम्म लैजान समस्या छ । सडक राम्रो भए अझ मनग्य आम्दानी लिन सकिन्थ्यो ।”

नेपालले ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरेर व्यवसायीक फलफूल खेती थालेका हुन् । जिल्लामा पहिलो पटक व्यवसायीकरुपमा ड्रागनको खेती थालेका नेपाल उदाहरणीय कृषकको रुपमा परिचित छन् । उनले २२ वर्ष विराटनगरमा बिताएर गाउँमा फर्केर व्यवसायीक खेती थालेका हुन् । व्यवसाय गर्नका लागि विराटनगरमा रहेको घर विक्री गरेर गाउँ आएको नेपाल बताउछन् ।

नेपालले भने, “२२ वर्ष विराटनगर बसेँ । गाउँ फर्केर व्यवसायीक खेतीमा लागेको छु । गाउँमा फर्केर आएर खेती गर्दा यहाँका साथीले धेरै थरीका कुरा पनि गरे । अहिले म व्यवसायमा सफल बन्दै गएको छु ।” आफैँले यसको विरुवा उत्पादन थालेको नेपालले बताउनुभयो । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्ने उनको भनाइ छ ।

पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गर्न सकिने हुनाले चाडो विग्रने समस्या हँुदैन । ड्रागनमा क्यान्सर प्रतिरोधी गुण हुने विज्ञ बताउँछन् । प्राविधिकका अनुसार रोपेको दुई वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । ड्रागनको एउटै बोटबाट धेरै वर्षसम्म फल लिन सकिन्छ ।

आफ्नो फर्ममा तीन सय ग्रामदेखि नौ सय ग्रामसम्मको फल फलेको नेपालले बताए । व्यवसायीकरुपमा खेती गरिरहेको भए पनि राज्यको तर्फबाट सहयोग नपाएको नेपालले गुनासो गरे । आफूले गरिरहेको कामको धेरैले प्रशंसा गरेपनि अन्य सहयोग नपाएको उनको भनाइ छ ।

नेपालले भने, ‘मैले खेती गरेको देखेर हौसला दिने धेरै छन् । सरकारबाट खास सहयोग पाएको छैन् । फार्मसम्म आउनको लागि सडक नहुँदा डोकोमा बोकेर सडकसम्म लैजाने गरेको छु ।” गाउँका अन्य कृषकसमेतलाई व्यवसायीक कृषिमा लाग्न हौसला दिँदै आएको उनको भनाइ छ ।

सिउडी प्रजातिको फल भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन । यसको खेतीको लागि दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने जमिन उपयुक्त हुन्छ । समुद्री सतहदेखी एक हजार पाँच सय मिटरसम्म उचाइमा खेती गर्न सकिन्छ । कम सिँचाइमा पनि उत्पादन दिने भएकाले सुख्खा क्षेत्रमा पनि खेती गर्न सकिने कृषक बताउँछन् ।