प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा



काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री देउवाले भने, “प्रेस स्वतन्त्रता प्रजातन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक छ । संविधानले प्रेस स्वतन्त्रतालाई कुनै बन्देज गरेको छैन, वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई हस्तक्षेप गर्ने छैन ।” उनले प्रेस स्वतन्त्रता नभए देशमा प्रजातन्त्रको विकास र सुदृढीकरण हुन सक्दैन भन्दै स्वतन्त्रताको पक्षमा सरकार उभिने विश्वास दिलाए ।


“प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता आवश्यक छ । पार्टी (नेपाली कांग्रेस)ले पनि कुनै बन्देज लगाएको छैन, संविधानले नै प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेकाले यसको प्रवद्र्धनका निम्ति सबै लाग्नुपर्छ”, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले भने । गठबन्धन सरकारले प्रेस स्वतन्त्रतालाई कुनै हस्तक्षेप र बन्देज नगरेको स्पष्ट पार्दै उनले सञ्चार जगत्ले जनताको पक्षमा कलम चलाउनुपर्ने धारणा राखे ।

प्रधानमन्त्री देउवाले आवधिक निर्वाचनमार्फत जनताले आफ्नो प्रतिनिधि छान्न पाउने भएकाले निर्वाचनको महत्व रहेको बताए । उनले जनताको सुखदुःखमा साथ दिने पार्टी पनि कांग्रेस भएकाले मुलुकको विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व जरुरी रहेको दोहो¥याए । उनले भने, “आर्थिक समृद्धि, संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि हाम्रो नेतृत्व अपरिहार्य छ ।”