काठमाडौँ । सत्ता गठबन्धनले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रभु साहलाई समर्थन गर्ने भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो । रौतहट ३ मा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रका उम्मेदवार धीरज पटेललाई फिर्ता गराउन लागेको हो ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रौतहट ३ मा साहलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए । पार्टी केन्द्रको निर्णयअनुसार रौतहट जिल्ला कमिटीले पनि पटेललाई उम्मेदवारी फिर्ता गरेर साहलाई समर्थन गर्न निर्देशन दिएको उनले बताए । एमालेले रौतहट ३ मा साहलाई नै टिकट दिएको थियो ।
तर, एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै साहले पार्टी टिकटबाट नलडेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । जनता समाजवादी पार्टीसँग एमालेले तालमेल गरेकोमा साह असन्तुष्ट रहँदै आएका थिए ।