प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक : वरिष्ठ नेता पौडेल



तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र व्यास नगरसमितिद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई खतरामा पार्ने खेल भइरहेको छ भने । 

वरिष्ठ नेता पौडेलले अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए। गाउँमा विकास र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो भन्दै नेता पौडेलले विदेशिने युवा शक्तिलाई स्वदेशमा बस्ने वातावरण बनाउनुपर्ने बताए ।  


गठबन्धन सत्ताका लागि नभइ देशमा सुशासन कायम गर्न, प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न भएको उनले बताए । देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि बढिएको उनले बताए । 

सो अवसरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले दुबै राजनीतिक दलका कार्यकर्ता इमानदार भएर लागेको अवस्थामा जित सुनिश्चित रहेको बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदेश आन्तरिक मामिलामन्त्री डोवाटे बिक, समानुपातिक उम्मेदवार श्यामकुमार मौरती लगायतका वक्ताले गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिए ।