पुटिनद्वारा युक्रेनका चार क्षेत्र रुसमा गाभिएको घोषणा



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भूभागको बचाउ गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताएका छन् । कुलीन रुसी राजनीतिज्ञ र सेनासँगको भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ताको टेबुलमा फर्किन आह्वान पनि गरेका छन् ।

युक्रेनका थप चार क्षेत्रलाई गैरकानुनी रूपमा गाभ्ने मस्कोको एउटा बृहत् हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् । ती गाभिएका क्षेत्रमा बस्ने मानिसहरूले नै त्यस्तो छनोट गरेको उनले दाबी पनि गरे। तर ती क्षेत्रमा गरिएका जनमतसङ्ग्रह भने देखावटी भन्दै निन्दा भएको छ ।


संयुक्त राष्ट्रसङ्घ, युक्रेन र उसका साझेदारहरूले ती जनमतसङ्ग्रहलाई गैरकानुनी भन्दै आलोचना गर्दै आएका छन् । राष्ट्रसङ्घले त्यसरी अर्को देशको भूमि आफूमा गाभ्नुले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने जनाएको थियो । गाभिन लागेका क्षेत्रहरू रुस नियन्त्रित डोनेट्स्क, लुह्यान्सेक, खेअरसन र ज्यापोरिज्या हुन् ।

रुसले ती क्षेत्रमा नियुक्त गरेका नेताहरूले औपचारिक पत्रमा हस्ताक्षर गरेका छन् । ती क्षेत्रका प्रतिनिधिहरूबीच परिचय गराइँदा दर्शकहरूले तालि बजाएका थिए । ती क्षेत्रलाई रसियन फेडेरेशनमा समाहित गर्ने औपचारिक प्रक्रिया आउँदा केही दिनमा हुनेछन् ।

भाषणमा पुटिनले उग्रराष्ट्रवादी भएर र पश्चिमा विरोधी भएर भाषण दिएका थिए । बिहीबार संयुक्त राष्ट्रसङ्घका महासचिवले रुसको युक्रेनका क्षेत्रहरू गाभ्ने रुसी योजनाको निन्दा गरेका थिए।