‘पाठ्यक्रममै राख्नुपर्छ सरसफाइ’



काठमाडौँ । “हाम्रै नेपाली जनशक्तिले हो विदेशमा गएर सरसफाइको काम गर्ने । विदेशी घर आँगन र संरचना कति सफा छन् ! त्यहाँ सामग्री छन्, प्रविधि छ र सफाइको काम प्राथमिकतामा छ । तर हाम्रो देशमा त्यस्तो सफा किन हुँदैन ? किन भने यहाँ यिनै वस्तुको खाँचो छ”, सरसफाइ क्षेत्रका अभियन्ता खेम शर्मा भन्छन्।

यही जनशक्तिले विदेशी संरचना टल्काउँछन्, तर हाम्रा संरचना किन सफा हुन सक्दैनन् त ? हाम्रा होटल, अस्पताल, सडक या सम्पदा विदेशीका जस्ता सफा बनाउन किन सकिँदैन ? शर्माको जवाफ छ, “यहाँ तालिमको राम्रो व्यवस्था छैन । स्थान र विषयबमोजिम आवश्यक उपकरण, केमिकल या सामग्री उपलब्ध छैनन् । ती वस्तु त बजारमा उपलब्ध होलान् तर तिनको प्रयोग गर्न सक्ने गरी जनशक्तिलाई तालिम छैन । मुख्य कुरा त यहाँ कामको अनुगमन छैन । त्यसैले हामीले जसरी सफा गर्न या राख्न सक्थ्यौँ त्यो स्वरूपमा गर्न सकिरहेका छैनौँ ।


खेम शर्मा सरसफाइ क्षेत्रका विज्ञ हुन्। उनको नेतृत्वमा पाँच वर्षअघि भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ नेपालको सफाइ क्षेत्रकै एक नमूना भएर रहेको छ । सो विमानस्थलको सफाइको गुणस्तर कायम राख्ने प्रयास त्यसयता सरकारले जारी राखेको भए पनि सोही रूपमा भने पछिल्लो समयमा सम्भव भएको देखिँदैन । अष्ट्रेलियामा सफाइसम्बन्धी कम्पनी स्थापना गरी यस क्षेत्रमा विज्ञता हासिल गरेका शर्मा विगतका केही वर्षदेखि नेपालको सफाइ क्षेत्रमा संलग्न रही आएका छन्।

“त्यति बेला गैर आवासीय नेपाली सङ्घको आह्वान र आग्रहमा मैले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा सफाइको एउटा नमूना पेश गरेको थिएँ । मलाई लाग्छ, त्यस समयको हाम्रो कामलाई राम्रो नठान्ने कोही थिएन । मैले पनि कामको जीवनमै नसोचेको प्रशंसा पाएँ । विमानस्थलजस्तो मुलुकको मुहार झल्किने स्थानमा भएको त्यो नमूना कामपछि के नेपाल नै यस्तो सफा गर्न सकिँदैन होला त भन्ने अनेकन जिज्ञासा उब्जिए । सामाजिक सञ्जालमा हजारौँ मानिसका यस्ता प्रतिक्रिया आए । मैले सोचेँ मप्रति धेरैको अपेक्षा रह्यो । त्यसैले अहिले पूरै नभए पनि धेरै नेपालमै समय दिएको छु” शर्मा भन्छन्।

पहिले नेपालमा स्वयंसेवीरुपमा सुरु गरेको यो सफाइको कामलाई उनले अहिले खेम्स क्वालिटीमार्फत व्यवसायीकरण गरेका छन् । विमानस्थलपछि पशुपति क्षेत्र, नागरिक उड्डयन प्राधिकरण, धुलिखेल अस्पताल, धनगढी विमानस्थल तथा धनगढी महानगरपालिकालगायतका स्थान र संरचनाको उनले सफाइ गर्नुका साथै त्यहाँका सफाइ कर्मचारीलाई तालिम दिएका छन् । नेपालका सबै विमानस्थललाई गुणस्तरीय सफाइ गर्नुपर्छ भनी उनले ती विमानस्थलहरूको सफाइ ‘अडिट’ पनि गरिरहेका छन्।

उनको नेतृत्वमा अहिले सफाइका कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरका उपकरण एवं प्रविधिको प्रयोग गरेर अन्तर्राष्ट्रियस्तरकै सफाइ तालिम दिने गरिएको छ । उनीसँग यस्तो तालिमका लागि आवश्यकता अनुसारका जनशक्ति छन् । उनी अस्पताल सफाइका लागि तालिम दिने चिकित्सक नै रहेको बताउँछन्। उनले हालै मात्र वीर, कान्ति बाल, ट्रमा र थापाथली प्रसूति अस्पतालको सरसफाइसम्बन्धी अनुगमन गरेर सरकारलाई रिपोर्ट बुझाएका छन् र केही समयपछि ती अस्पतालका जनशक्तिलाई पनि तालिमको तयारी गरिएको बताए। उनलाई केही समयअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइको गुणस्तरलाई कायम राख्नका लागि अनुगमन गरी सफाइका कर्मचारीलाई तालिमका लागि अनुरोध गरेको थियो । अहिले पनि उनलाई स्वास्थ्य मन्त्रालयले अस्पतालका साथै अन्य मन्त्रालयले कार्यालय तथा विभिन्न संरचनाको सफाइका लागि आग्रह गरेका उनले बताए।

सफाइ क्षेत्रमा काम गर्ने कर्मचारी आफ्ना अभिभावक ठान्छन् उनलाई । शर्मा काम गर्दा होस् या तालिमका समयमा, मजदुरसँगै बसेर काम गर्छन्। सफाइको काम जसरी समाजले अहिले तल्लो स्तरका मानिसले गर्ने काम भनेर तुलना गरेको छ, त्यस्तो होइन भन्ने कुराको सन्देश र प्रेरणा दिनुपर्ने उनी ठान्छन् । त्यसैले उनले तालिम दिएका सबैजसो कार्यालय तथा स्थानका सफाइ कर्मचारीले सफा गर्न मात्र सिकेको नभई आफूले गरेको पेसालाई समाजले जसरी लिएको छ त्यस्तो नभएर कामको सम्मान गर्नुपर्ने पेसाका रूपमा बुझ्न सकेको बताउने गर्दछन् ।

“पहिले पहिले सरसफाइ कुनै काम नै होइन जस्तो लाग्थ्यो । घर होस् या कार्यालयको, त्यति प्राथमिकतामा पर्दैनथ्यो । अड्डामा कुनै एक दुई जना कार्यालय सहयोगीले सफाइ गर्थे भने घरमा यसको खास जिम्मेवारीमा कोही हुँदैनथ्यो । तर अहिले यो सोचमा परिवर्तन हुदैछ । अहिले मानिस पहिलो प्राथमिकता सफाइ हो भन्ने सोच्न थालेका छन् । हालै मात्र धनगढी उपमहानगरपालिकाका अध्यक्ष गोपी हमालले मिडियाबाटै हाम्रो कामबारे थाहा पाएर बोलाएको स्मरण गर्दै उनी भन्छन्, “हामी त्यहाँ गयौँ र धनगढी उपमहानगरपालिकाका सफाइकर्मीलाई तालिम दिएर आयौँ ।”

सिटीइभिटीमा अरु धेरै विषयका पाठ्यक्रम र तालिम दिने व्यवस्था भए पनि सरसफाइसम्बन्धी नभएकाले उहाँको ‘टिम’ले यससम्बन्धी एक व्यावसायिक पाठ्यक्रम बनाएर सिटीइभिटीलाई दिएको छ । सरसफाइलाई अन्य व्यावसायिक ‘कोर्ष’ जस्तै पाठ्यक्रममा राखेर पठनपाठन गराउनुपर्ने उनको सुझाव छ । त्यसो भयो भने यस क्षेत्रमा विकसित पछिल्लो प्रविधि भित्र्याउन, यसका सीपहरूको व्यावसायिक विकास गर्न र सफाइको कामलाई पनि प्राथमिकतामा राख्न सजिलो हुने उनको भनाइ छ । उनले अहिले पछिल्लो छ महिनामा नेपाल फर्किएपछि विभिन्न स्थानका गरी पाँच सय सफाइकर्मीलाई तालिम दिएका छन्।

यो तालिमले के फरक पारेको छ ? उनी भन्छन् , “जनशक्ति दक्ष बन्यो । उनीहरूलाई औजार तथा विश्वमा विकसित पछिल्लो प्रविधि कसरी चलाउने र केमिकलको प्रयोग कसरी गर्ने भन्ने ज्ञान पनि भयो । आफ्नो क्षेत्रमा आफूले गरेका कामका लागि यसका जनशक्तिलाई थप आत्मबल बढायो । उनीहरू विदेश नै जानुपर्दा पनि हातमा सीप लिएर जाने भए र जसका कारण कमाइ पनि बढी गर्ने भए । यस्ता अरु पनि धेरै फाइदा छन् हामीले व्यावसायिक रूपमा यसको विकास गर्न सक्यौँ भने ।”

शर्मा कुनै बाह्य वस्तुको सफाइ गर्नुअघि सफाइको काम लगाउने र गर्ने मानिसका मनको विकार सफा गर्नुपर्ने सुझाव दिन्छन्। एकातिर काम लगाउनेले सफाइको कामलाई काम ठानेको छैन भने अर्कातर्फ काम गर्नेहरूको मनमा पनि समाजले आफूलाई हेय भावले हेर्छ भन्ने बसेको छ उनी भन्छन् । यी दुवै मानसिकतामा परिवर्तन गरी यहाँ पनि सफाइ क्षेत्रमा विकास भएका पछिल्ला औजार, प्रविधि र सामग्रीको प्रयोग गर्न सकिएमा यही जनशक्तिले विदेशजस्तै नेपाललाई टल्काउन सक्छ । अहिले जसरी आफूलाई सफाइकर्मीले आफ्ना अभिभावकका रूपमा लिएर प्रेरणा पाएका छन्, यसलाई थप केही वर्ष निरन्तरता दिन उनी सुझाउँछन् । पहिले आफ्नो मन र घर सफा भएपछि मात्र समाज र देश सफा हुने भएकाले सफाइ अभियान सबैभन्दा पहिला हरेक व्यक्तिले आफूबाट थाल्नुपर्ने उनको सुझाव छ ।