पाकिस्तान विपद्को जोखिममा रहेका विश्वका शीर्ष १० मुलुकमध्ये एक



पाकिस्तान विश्वव्यापी जलवायुको उच्च जोखिममा रहेको पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले बताएका छन् । प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो देश विश्वव्यापी जलवायु जोखिम सूचकाङ्कमा विपद्को जोखिममा रहेका शीर्ष १० मुलुकमध्ये एक भएको बताएका हुन् ।

‘भूकम्प, बाढी, हिमताल विस्फोट, बादल फुट्ने, अभूतपूर्व वर्षा, भीषण गर्मी र जङ्गलमा लागेको डढेलोका कारण अमूल्य जनधनको क्षति भएको उल्लेख नगरौं, लाखौं डलरको क्षति भएको उल्लेख नगरौं,’ प्रधानमन्त्री सरीफ विपद्का कारण मानवीय तथा अन्य क्षति व्यहोरेका पाकिस्तानका जनताप्रति ऐक्यबद्धता व्यक्त गर्न मनाइँदै आएको राष्ट्रिय उत्थानशीलता दिवसका अवसरमा भने ।


उनले पाकिस्तानले आज सबैभन्दा खराब विपत्तिको रूपमा जुन अवस्थाबाट गुज्रिरहेको छ, त्यो उसको आफ्नै कारणले नभई विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनका कारण जलवायु परिवर्तनको परिणाम भएको दावी गरे ।

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार ७०० पुगेको छ भने १२ हजार ८६७ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले बिहीबार राति सार्वजनिक तथ्याङ्कमा जनाएको छ ।

प्रधानमन्त्री सरीफले भने, “पाकिस्तानका जनताले साहस र लचिलोपनका साथ विपत्तिको सामना गरेका छन् । म आफ्ना जनता र अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छु कि सरकारले बाढी प्रभावित जनताको समयमै पुनस्र्थापना, पुनर्निर्माण र अर्थतन्त्रको पुनरुत्थान सुनिश्चित गरी उनीहरूको हेरचाह गर्न सक्दो प्रयास गरिरहेको छ र जारी राख्नेछ ।”

पाकिस्तानको विपद् जोखिम र जलवायु परिवर्तनबारे बोल्दै सरीफले सरकार विपद् व्यवस्थापन प्रणालीको क्षमता अभिवृद्धि, आवश्यक कानून निर्माण, जोखिम संवेदनशील शासन को प्रबद्र्धन र लचिलो पूर्वाधार निर्माण गर्न प्रतिबद्ध रहेको बताए ।