पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई ५० हजार उपलब्ध गराइने



काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार उपलब्ध गराउने भएको छ । अविरल वर्षापछि गएराति आएको पहिराले चन्द्रागिरि–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र  पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थायी घर भई हाल ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी छन् । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले आज बिहान घटनास्थलको अवलोकन तथा पहिरो पीडितका आफन्तजनसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन् । उनले भने, ‘पहिराले थप क्षति हुन नदिन स्थानीय क्षेत्रमा अवरुद्ध बाटो खुलाउने काम भइरहेको छ । सम्भावित जोखिमलाई ध्यान दिँदै नगरपालिकाले सचेतना जगाउने काम गरिरहेको छ ।’


नगरप्रमुख गिरीले पहिरामा पुरिएकाको शव निकालिएको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिए। स्थानीयवासीका अनुसार ध्यान केन्द्रमा बसेका श्रेष्ठ परिवार दमका रोगी रहेका बताइएको छ ।