बैतडी । पहिरोले बैतडीका चार घर र एक विद्यालयमा क्षति पुर्याएको छ । लगातारको वर्षाका कारण खसेको पहिराले जिल्लाको सुर्नया गाउँपालिका–७ बान्नी टोलका रामबहादुर कुँवर र हर्कबहादुर कुँवरका छ/छ कोठे घर भत्किएका हुन् । घर माथिबाट खसेको पहिरोले घर भत्किएका हुन् ।
पहिरोले मानवीय क्षति भने नभएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । यस्तै पत्थरले छाएका घर भत्किँदा गोठमा बाँधेका पशुचौपाया घाइते भएको बताइएको छ । पहिरोले घर भत्किँदा गोठमा बाँधेका दुई भैँसी, दुई गाई र १० बाख्रा पनि घाइते भएका जनाइएको छ । पहिरोले घर भत्किएर विस्थापित परिवार आफन्तको आश्रयमा बसेका स्थानीय लोकबहादुर कुँवरले जानकारी दिए ।
पहिराकै कारणले सिगास गाउँपालिका–५ हरडाखानीका रामसिंह धामी र प्रेमसिंह धामीको घरमा पहिरोले क्षति पु¥याएको छ । स्थानीय पद्म साउँदका अनुसार पहिरोले दुवै जनाको घर पूर्णरूपमा क्षति भएको छ । पहिरोले घर भत्काएपछि अहिले धामी परिवार छिमेकीको शरणमा बस्दै आएका छन् ।
वर्षाका कारण एक विद्यालय भवन पनि भत्किएको छ । पाटन नगरपालिका–३ बुङ्डास्थित सिगास आधारभूत विद्यालयको तीन कोठे भवन भत्केको हो । वर्षाकै कारण घरको आँगनबाट पहिरो जाँदा दोगडाकेदार–४ ढाणका अम्बादत्त भट्टको घर जोखिममा परेको खोचलेक प्रहरी चौकीका इन्चार्ज मानसिंह पन्तले बताए ।
यस्तै दोगडाकेदार–३ कलौनामा पहिरोले खेत बगाएको छ । पाँच दिनदेखिको वर्षाले यहाँको जनजीवन प्रभावित बनेको छ ।