पटकपटकको अनुगमनले पनि सुधार भएन होटल



गुल्मी । गुल्मीका होटल पटकपटकको अनुगमनमा पनि सुधार नभएको पाइएको छ । प्रत्येक वर्ष चाडपर्व लक्षित अनुगमन गरिए पनि होटल पुरानै अवस्थामा रहेको पाइएको हो । गत वर्ष जिल्ला प्रशासन कार्यालय गुल्मीको निर्देशनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाले होटल अनुगमनको क्रममा सरसफाइमा ध्यान दिन आग्रह गरेको थियो । यो वर्ष गरिएको अनुगमनमा पनि होटल सरसफाइ नभएको अवस्थामा भेटिएका छन् । अधिकांश होटलका भान्सा कोठा निकै फोहर अवस्थामा रहेको भेटिएका हुन् । उनीहरुलाई केही दिनमा अनुगमन गर्ने गरी चेतावनी दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको निर्देशनमा शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पा, होटल व्यवसायी मञ्च गुल्मी, प्रहरी र पत्रकारको सहभागितामा अनुगमन गरिएका २१ होटल अधिकांश फोहर अवस्थामा भेटिए । सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार होटल फोहर हुनुका साथै खाना पकाउँदा चाहिने सामग्री नछोपेको, अनुजापत्र नलिएको र व्यवस्थितरूपमा होटल सञ्चालन नगरेको जस्ता समस्या देखिएका छन् ।


होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जङ्गबहादुर कुँवरले अनुगमनका क्रममा दिएका सुझाव अनिवार्यरूपमा पालना गर्न सबै व्यवसायीलाई आग्रह गरे । उनले मञ्चको तर्फबाट पनि अनुगमन गरेर होटल सुधारिने बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले पटकपटकको निर्देशन र सुझाव नमान्ने व्यवसायीलाई कानूनी दायरामा ल्याउने बताए । केही दिनपछि पुनः छड्के अनुगमन गर्ने र अनुगमनका क्रममा पुरानै अवस्था देखिएमा व्यवसायीलाई कारबाही गरिने उनको भनाइ छ । चितुवाको जीवितै उद्धार गुल्मीमा कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार गरिएको छ ।

जिल्लाको रेसुङगा नगरपालिका–१० सिमीचौरमा रहेको कालिज फार्ममा चितुवा पसेपछि उसको जीवितै उद्धार गरिएको हो । सिमीचौरमा रहेको सौगात अर्गानिक कृषि फार्म एण्ड रिसर्च सेन्टरमा शुक्रबार बिहान चितुवा पसेको सञ्चालक हुमाकान्त अर्यालले जानकारी दिए । उनले चितुवा पसेको देखेपछि जिल्लास्थित सुरक्षा निकाय र डिभिजन वन कार्यालयमा जानकारी गराराएका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारी पौडेललेको नेतृत्वमा टोलीले स्थलगत अनुगमन गरेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालय गुल्मीका कर्मचारी र स्थानीयवासीको सक्रियतामा चितुवाको जीवितै उद्धार गरिएको हो । क्षतिको विवरण अझै प्राप्त नभएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । सामान्य घाइते चितुवालाई जङ्गलमा लगेर छाडिएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिनुभयो । फार्ममा पनि सामान्य क्षति पुगेको अनुमान गरिएको छ ।