निरन्तर वर्षा हुँदा कैलाली, कञ्चनपुरलगायतका जिल्लाको जनजीवन प्रभावित



कैलाली । केही दिनदेखिको लगातारको वर्षाका कारण कैलाली, कञ्चनपुरलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । मानिसहरु गन्तव्यसम्म पुग्न सकेका छैनन् । गत बुधबारदेखि लगातार वर्षा भइरहेको छ । घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । वर्षाका कारण जिल्लाका केही स्थानमा घर डुबानमा परेका छन् भने कतिपयका घरभित्र पानी पसेको छ ।

दैनिक ज्यालामजदूरी गरी खानेको जीवन झनै कष्टकर भएको छ । वर्षाले काममा जाने वातावरण बनेको छैन । कतिपयको मजदूरी गरेर नै परिवारको लालनपालन गर्नुपर्ने अवस्थाका श्रमिक मारमा परेका छन् । मजदूरी गरी घरिपरिवार धान्दै आएका धनगढी उपमहानगरपालिका–२ का किशन नेपालीले वर्षाका कारण केही दिनदेखि काम गर्न नगएको दुःखेसो गरे । घर निर्माणको काममा ज्यादारी गर्दै आएका नेपालीले वर्षाका कारण चार दिनदेखि आफू काम गर्न नगएको बताए । “काम ठप्प भएको छ अझै कति दिन काम बन्द हुने हो, आफूले सोही कामबाट परिवार पाल्दै आएका थिएँ”, उनले भने ।


विद्युतीय रिक्सा चलाएर परिवारको खर्च धान्दै आएका धनगढीकै नवराज साउदले केही दिनदेखिको वर्षाले रिक्सा चलाउन समस्या भएको बताए । “पानी दिनहुँ लगातार परिराखेकाले मानिसको आवतजावतमा कमी आएको छ, कतिपय सडकमा पानी भरिएर तलाउ भएका छन् भने कतिपय सडक पूरै हिलाम्य भएका छन्”, उनले भने, “जसले गर्दा रिक्सा गुडाउन पाइएको छैन ।”

पर्व मनाउन घर आएका पनि गन्तव्य स्थानमा पुग्न सकिरहेका छैनन् । बडादसैँ मनाउन देशका विभिन्न स्थानबाट आ–आफ्नो घर आएकाहरु गन्तव्यमा फर्कन सकेका छैनन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका हेमराज जोशीले आफू दसैँ मनाउँनका लागि काठमाडाैँबाट घर आएको थिएँ, टीकाको भोलिपल्टै फर्कनुपर्ने काम थियो तर निरन्तर वर्षा हुनथालेपछि आफू रोकिएको सुनाउनुभयो त्यस्तै बुधबारदेखि लगातार वर्षा भइरहेकाले यहाँका किसानमा चिन्ता छ ।

किसानका खेतमा धान पाकेर लटरम्मै भएको छ । कतिपयले धान काटिसकेका छन् भने कतिपयले काट्न सुरु गरेका छन् । गतवर्षको झरीले धान भित्र्याउने बेला भएको धान डुबानमा परी कैलाली, कञ्चनपुरलगायत जिल्लामा ठूलो क्षति भएको थियो । वर्षाले धान उठाउन त के किसानले धानको बीउसमेत जोगाउन पाएका थिएनन् । कतिपयले खेतमा धान काटेका थिए भने कोहीले थ्रेसर गर्न ठिक्क पारेर जम्मा गरेका थिए । उठाउनै नपाएर पूरै धानबालीमा क्षति भएको थियो । खेतमै धान उम्रिएर जमरा झै भएको थियो । घरपालुवा पशुचौपायाको आहाराको लागि प्रयोग गरिने परालसमेत खेतमै कुहिएको थियो ।

सोही अवस्था यसपाली पनि दोहोरिने होकी भन्ने चिन्ता किसानका मनमा बढ्दै गएको छ । लगातारको वर्षाका कारण धनगढी लगायतका आसपासका क्षेत्र पूरै जलमग्न भएका छन् ।