नारायणी किनारमा तीन सङ्घीय मन्त्रालयका छुट्टाछुट्टै योजना



चितवन । नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन् ।

भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रुपमा तीनवटै योजनाको काम अघि बढेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतको काम गर्दैछ ।


शहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ नौ सय ८५ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्दैछ । नदीको सतहदेखि २.५ मिटर उचाइमा ११ खुट्किला निर्माण गर्दैछ ।

१९ करोड ८६ लाख अनुमानित लागतमा बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए । खुट्किलाको सतह दुई मिटर चौडा हुन्छ भने अन्य खुट्किला ५० सेन्टिमिटर चौडा हुन्छन् । उनको भनाइमा माथिल्लो तह ४.५ मिटर फराकिलो हुनेछ । सो भागको ठाउँठाउँमा आकर्षक गोलाकार बनाएर वृक्षरोपण गरिने छ । पाँच मिटरको फरकमा विरुवा लगाइने उनले जानकारी दिए ।

आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनीयर शङ्कर बुढाथोकीका अनुसार एक वर्ष ६ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । उनले भने, ‘बाढीले नबगाउने गरी आकर्षक ढङ्गले सिढी निर्माण गरिँदै छ ।’ यसले तटबन्धको काम गर्ने, सौन्दर्यकरण बढाउने र नदी प्रयोगकर्तालाई सहज हुने उनको भनाइ छ । यो तटबन्धका कारण नवलपरासीतर्फको भूभागमा कुनै असर नपरोस् भन्नका लागि ध्यान दिइएको छ ।

भरतपुर महानगरपालिकाका इञ्जिनीयर अस्मीता खनालका अनुसार पर्यटन विभागले नदीको तटीय क्षेत्रमा काम गरिरहेको छ । उनका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गत २.४ किलोमिटर पदयात्रा, एक सय हाराहारी चारपाङ्ग्रे्रे सवारी अट्ने दुई वटा पार्किङस्थल, बगैँचालगायत निर्माणका काम भइरहेको छ । छ करोड ५० लाख बजेटमा काम भइरहेको छ ।

यस ठाउँमा बगैँचा, फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बीच भलिबल, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायत संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको २ दशमलव ५ किलोमिटर लामो सो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ ।

तटबन्ध बाहेकका २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिनेछ । बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहनेछन् ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरभित्र स्मार्ट सिटी गुरुयोजना अनुरुपको रु ५० करोडको बोलपत्र आह्वान गरेको छ । आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गर्दैछ । आरती क्षेत्र वरपर बत्ती राख्दैछ । उनका अनुसार झण्डै रु दुई करोडको काम आयोजनाले नारायणी नदी किनारमा गर्दैछ । उनले भने, ‘हामीले अरु मन्त्रालयले गरिरहेका काम नजुध्ने गरी समन्वय गरेर गर्दैछौँ ।’

स्मार्ट सिटीको लिस्टबाट हटेको भरतपुर महानगरपालिकालाई पुनःजोडेर यसवर्ष सोही गुरुयोजना अनुसारका ५० करोडका कामअघि बढेको महानगरले जनाएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ती तीन मन्त्रालयसँगै भरतपुर महानगरपालिकाले विभिन्न काममा बजेट विनियोजन गरेर नदी किनारमा काम गरिरहेको बताइन् । उनका अनुसार सुरुमा पदमार्गलगायत काम महानगरकै बजेटबाट थालिएको हो । महानगरले सो क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको ‘सी बीच’ मोडलमा विकास गर्ने गुरुयोजनाअनुसार सङ्घीय मन्त्रालयले सहकार्य गरेको उनको भनाइ छ । काम नजुध्ने गरी व्यवस्थित ढङ्गले अघि बढाइने दाहाल बताउछिन् ।

महानगरको सहरी क्षेत्रमा बसोबास गर्नेका लागि नदी किनार निकै उपयोगी हुनेछ भने आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक केन्द्रविन्दु बन्ने प्रमुख दाहालको विश्वास छ । पवित्र तीर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अवलोकन गर्न सकिनेछ । दाहालका अनुसार किनारका संरचना बन्दै गर्दा विभिन्न खेल खेल्न सकिनेछ । दाहालले भनिन्, ‘म पहिलो पटक प्रमुख भएसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्ने योजनानुसार कामले गति लिएको छ ।’

सामुन्द्रिक किनारको अनुभूति त्यहाँ पुग्ने जो कोहीले पाउने गरी संरचना निर्माण गर्न लागिएको उनको भनाइ छ । मुख्यरुपमा आन्तरिक पर्यटक र बाह्यलाई नदी किनार महत्वपूर्ण गन्तव्य बन्नेछ । धार्मिक दृष्टिले नारायणी नदी महत्वपूर्ण मानिन्छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले विश्वका ठूला सहरमा पर्यटकको मुख्य आकर्षण नदी र सामुन्द्रिक किनार हुने भए पनि यहाँ नदीलाई उपयोग गर्न नसकिएको बताए ।

उनले नेपालमा धेरै सुन्दर नदी भएको तर त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षणमा नदी र तिनका किनार क्षेत्र कमै मात्र पर्ने गरेको बताए । नारायणी नदी किनारलाई आकर्षक गन्तव्य बनाइने उनले बताए । पर्यटकीय नगरी सौराहालाई नारायणी नदी किनारसँग जोड्ने हो भने यहाँ थप पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।