नवौँ राष्ट्रिय खेलकुद : आईटीएफ तेक्वान्दोतर्फ १९ स्वर्ण पदकको छिनोफानो



बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोतर्फको हालसम्म १९ स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सर्वाधिक सात स्वर्ण पदक जितेको छ । आर्मीले पाँच रजत र दुई कांस्य पदकसमेत प्राप्त गरेको छ । यसैगरी वाग्मती प्रदेशले पाँच स्वर्ण र एक रजत पदक प्राप्त गरेको छ । 

यसैगरी गण्डकी प्रदेशले ४ स्वर्ण र ७ रजत, एपीएफ क्लबले २ स्वर्ण, १ रजत र ३ कांस्य, प्रदेश १ ले १ स्वर्ण, १ रजत र १ कांस्य, लुम्बिनीले ३ रजत र ५ कांस्य, कर्णालीले १ रजत र १ कांस्य तथा नेपाल पुलिस क्लबले २ कांस्य पदक प्राप्त गरेको छ ।


केहीबेरअघि सम्पन्न महिला एकल स्पाइरिङतर्फको । (५१-५५) किलो तौल समूहतर्फ प्रदेश १ की कुशुम राजवंशीले स्वर्ण, गण्डकीकी सुशीला अढाईले रजत तथा आर्मी क्लबकी रिना धिमाल र पुलिस क्लबकी सञ्जनाकुमारी घर्तीमगरले कांस्य पदक प्राप्त गरेका छन् ।

यस्तै महिला एकल स्पाइरिङतर्फ नै (४०–४५) किलो तौल समूहमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण, वाग्मतीकी सुस्मिता तामाङले रजत तथा पुलिस क्लबकी मनिषा घर्तीमगर र एपीएफ क्लबकी लीलाकुमारी सापकोटाले कांस्य पदक प्राप्त गरेका छन् ।

यसैगरी आजै सम्पन्न पुरुष एकल स्पाइरिङतर्फ (६१–६५) किलो तौल समूहतर्फ एपीएफ क्लबका गोविन्द खत्रीले स्वर्ण, आर्मी क्लबका प्रमोदकुमार साहुले रजत तथा लुम्बिनीका राहुल थापा र प्रदेश १ का नितेश खवासले कांस्य पदक प्राप्त गरेका छन् ।

यसअघि पुरुष एकल स्पाइरिङतर्फ (४६-५०) किलो तौल समूहमा गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्ण, कर्णालीका मिलन धामीले रजत तथा आर्मीका पूर्णबहादुर मगर र लुम्बिनीका सन्तोष बुढामगरले कांस्य प्राप्त गरेका थिए । यस्तै पुरुष एकल स्पाइरिङतर्फ (५१-५५) किलो तौल समूहमा वाग्मतीका रिक्सान वाइबाले स्वर्ण, आर्मीका प्रेमकुमार मगरले रजत तथा लुम्बिनीका अर्जुन नेपाली र एपीएफ क्लबका सुनील महतोले कांस्य पदक प्राप्त गरेका थिए ।

यसैगरी पुरुष एकल स्पाइरिङतर्फ (५६-६०) किलो तौल समूहमा वाग्मतीका अनिल तामाङले स्वर्ण, गण्डकीका प्रवीण बुढाले रजत तथा एपीएफ क्लबका सुमन रानामगर र लुम्बिनीका हेमराज डाँगीले कांस्य पदक पाएका थिए । महिला एकल स्पाइरिङतर्फ (४६–५०) किलो तौल समूहमा गण्डकी प्रदेशकी सुस्मिता थापामगरले स्वर्ण, प्रदेश १ की इन्दिरा थापाले रजत तथा लुम्बिनी प्रदेशकी पूजा रसाइली र कर्णाली प्रदेशकी कमला विकले कांस्य पदक प्राप्त गरेका छन् ।

नेपाल आईटीएफ तेक्वान्दोका महासचिव अञ्जु रावतका अनुसार शनिबारदेखि बागलुङमा सुरु भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीका दुई सय ५० खेलाडीबीच ४५ स्वर्ण, ४५ रजत र ३० कांस्य पदकका लागि प्रतिस्पर्धामा भइरहेको छ । नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीका विभिन्न जिल्लामा दुई प्रदर्शनीसहित ३८ खेल भइरहेका छन् ।