धादिङमा पालिकास्तरीय टि–२० क्रिकेट लिग सुरु



धादिङ । धादिङमा अन्तरपालिकास्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाभित्रका स्थानीय सरकारको सहयोगमा धादिङ जिल्ला क्रिकेट सङ्घले प्रतियोगिताको आयोजना गरेको हो ।

सोमबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ब्याटिङ र बेनिघाट रोराङ गाउँँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बलिङ गर्दै खेलको उद्घाटन गर्नुभयो । सो–म्याचमा स्थानीयतह र क्रिकेट सङ्घका पदाधिकारी पनि सहभागी थिए । प्रतियोगितामा जिल्लाभरका आठ पालिकाबाट टिम सहभागी छन् ।


बेनिघाट रोराङ गाउँँपालिकाको विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा गजुरी गाउँँपालिका र खनियाबास गाउँँपालिकाले ‘ओपनिङ’ खेल खेलेका छन् । धादिङमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो ।

स्थानीयस्तरमै खेलाडी उत्पादन गर्ने र क्रिकेट खेलमार्फत धादिङलाई देश विदेशमा चिनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको धादिङ क्रिकेट सङ्घका अध्यक्ष दिपेश कँडेलले बताए ।