धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले देश गम्भीर मोडमा पुगेको बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेशको धनगढीमा सत्ता गठबन्धनले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देश गम्भीर मोडमा पुगेको बताएका हुन् ।
उनले भने,‘अहिले नेपाल अत्यन्तै गम्भीर मोडमा उभिएको छ । देश कता जाने ? संविधान कता जाने भन्ने द्विविधा छ। हामीले २००७ सालदेखि लड्दा÷लड्दा यो व्यवस्था आएको हो, त्यसैले यो शासन प्रणालीलाई बचाउनका लागि सुदूरपश्चिमको एकता आवश्यक छ ।’ प्रधानमन्त्री देउवाले एकबद्ध भएर गठबन्धनका उम्मेदवारहरु जिताउन पनि आह्वान गरेका छन् ।
देउवाले भने, ‘सुदूरपश्चिम मेरो घर हो, त्यसैले सुदूरपश्चिमबासीमाथि मेरो हक लाग्छ । यसपाली गठबन्धनका सबै उम्मेदवारहरुलाई जिताउन आह्वान गर्दछु ।’ संविधानको रक्षा, राष्ट्रिय एकता र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई जिताउनु पर्ने देउवाको भनाइ छ ।
देउवाले टिकट वितरणका क्रममा आफ्नै दलका नेतामाथि अन्याय भएको भन्दै माफी पनि मागेका छन् । उनले भने, ‘मलाई थाहा छ, गठबन्धनका कारण पनि कांग्रेसका सबैले टिकट पाएनन, कसैमाथि अन्याय पनि भयो, म त्यसका लागि क्षमाप्रार्थी छु ।’