दार्चुला घटना : भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार, पीडित परिवारलाई क्षतिपुर्ती दिइने



खलङ्गा । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ। भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एन्ड गर्ग’ ले गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ। 

शुक्रबार दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारिको भारतीय क्षेत्रमा सडक निर्माणका क्रममा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुंगाले स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो। महरा महाकाली किनारमा नेपाली क्षेत्रमा रहेका बेला उक्त घटना भएको थियो।


‘भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गरेको छ,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले भने। उक्त घटनाबारे नेपाली पक्षले भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल गरेको थियो।

महाकाली किनारमा भारतले सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो। भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा बिस्फोट गराउँदा महराको मृत्यु भएको नेपाली पक्षको आरोप छ। उक्त विषयमा दुवै पक्षबीच छलफल हुँदा भारतीय पक्षले सो घटनाको आफू जिम्मेवार रहेको स्वीकार गरेको शाहीले बताए।’भारतीय निर्माण कम्पनी क्षतिपूर्ति दिन तयार छ,’ उनले भने।

उनका अनुसार भारतीय निर्माण कम्पनीले मृतक महरा परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउने तथा परिवारका एक सदस्यलाई कम्पनीमा रोजगारी दिन सहमत भएको छ। निर्माण कम्पनीले १० लाख रूपैयाँ दिन तयार रहेको जनाए पनि मृतक महराको परिवारले अस्वीकार गरेको प्रहरी निरीक्षक शाहीले बताए।

पीडित बालकको परिवारले भारतीय पक्षसँग १० लाख भारतीय रूपैयाँ क्षतिपूर्तिस्वरूप माग गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। निर्माण कम्पनी गर्ग एन्ड गर्गसित थप छलफल गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाइने उनको भनाइ छ।

छलफलका लागि पीडित परिवारका सदस्य, स्थानीय प्रहरी प्रशासनका प्रतिनिधिलगायतको टोलीले शनिबार भारतको भारतको धार्चुला गई छलफल गरेको थियो। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना विस्फोटक पदार्थ प्रयोग गरेर पटक पटक ज्यादती गरेको नेपाली पक्षले आपत्ति जनाएको थियो।

अब आइन्दा यस्ता गतिविधि रोक्न नेपाली पक्षले भारतीय पक्षसित आग्रह गरेको छ। भारतीय पक्षबाट यसअघि पनि यस्ता घटना हुँदै आएका थिए। भारतले सीमा क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ घरमा क्षति हुने गरेको स्थानीयवासीको गुनासो छ।

शुक्रबार भारतीय निर्माण कम्पनीले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा बालक महराको घटनास्थलमै ज्यान जानुका साथै उनकी दिदी १४ वर्षीया सरिना घाइते भएकी थिइन्। हाल उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। दुवैजना आमाबुवासँगै जंगलबाट घर फर्किँदै थिए। बालक महराको शव शुक्रबार राति परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको थियो।

मृतक बालक दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए। सरिनाको खुट्टामा चोट लागेको बुवा हिक्मतले बताए। भारतीय पक्षले जानकारी नदिइकन विस्फोट गराएका कारण छोराको ज्यान गएको उनले बताए।

‘म श्रीमती बेरसपति, छोरा पंकज, सरिना, पवन र पवेशसँगै लेकबाट घर फर्किँदै थियौं,’ महराले भने, ‘एक्कासी उछिट्टिएर आएको ढुंगा लागेर छोरोको ज्यान गयो। विस्फोटक पदार्थ प्रयोग हुँदैछ भन्ने जानकारी पाएको भए छोरा गुमाउनु पर्दैन थियो। उनीहरू (भारतीय पक्ष) ले सिठ्ठी समेत बजाएनन्।’

महरा परिवार दसैंतिहारको बिदामा गाईवस्तु तथा भेडाबाख्रा चराउन लेक उक्लिएको थियो। यही कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि उनीहरू गाउँ फर्किएका थिए।

भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ। त्यसका लागि बेला बेलामा उनीहरूले विस्फोटक पदार्थ प्रयोग गर्ने गरेका छन्। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था भएमा एकअर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ।

‘दुवै देशका स्थानीय प्रशासनबीच समन्वय हुनुपर्छ,’ प्रजिअ उपाध्यायले भने। तर शुक्रबार भारतीय पक्षले विस्फोटक पदार्थ प्रयोगबारे कुनै जानकारी नदिएको उनको भनाइ छ।’घटनाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छौं,’ प्रजिअ उपाध्यायले भने।

घटनाबारे स्थानीयस्तरमा दुवै देशका जिल्ला अधिकारीबीच टेलिफोन संवाद भएको बताइएको छ।