दाउन्ने सडक दुईतर्फी सञ्चालनमा



कावासोती । पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिराले अवरुद्ध सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ। लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग र बजारका घरहरूमा चिरा परेपछि सडक अवरुद्ध भएको थियो।

अवरुद्ध सडक बुधबार साँझदेखि एकतर्फीरूपमा सञ्चालनमा आए पनि ठूला मालवाहक सवारीलाई पूर्वमा दुम्किबास र पश्चिम बर्दघाटमा रोकिएको थियो। नेपाल प्रहरी र सडक विभागको सहकार्यमा रातभरमा सडकलाई दुईतर्फी सञ्चालनमा आउने गरी तयार पारिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।


दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पहाडतर्फको भागलाई खनेर बाटो चौडा बनाइएको प्रजिअ अधिकारीले बताए। पहिराका कारण विस्थापित भएका चार घरपरिवारलाई गाउँपालिकासँगको समन्वयमा आश्रयस्थलमा राखिएको घिमिरेले बताए।