दक्षिण सुडानमा बाढी पहिरोबाट नौ लाखभन्दा बढी व्यक्ति प्रभावित भएको पाइएको छ । देशका २९ इलाका बाढी पहिरोबाट बढी प्रभावित भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । ती इलाकाहरू देशको अबेई प्रशासनिक क्षेत्रका रहेका छन् ।
संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीयता मामिला समन्वय कार्यालयले सार्वजनिक गरेको विवरणमा बाढीबाट प्रभावित भएकाहरुको अवस्था नाजुक रहेको उल्लेख गरिएको छ । “बाढीले देशका विभिन्न ठाउँमा धेरै क्षति पु¥याएको छ, बाढीका कारण सडक, पुल, भत्किएका छन् भने नीजि निवास तथा विद्यालय भवनहरु क्षतिग्रस्त भएका छन्,” प्रतिवेदनमा लेखिएको छ ।
बाढीले भौतिक संरचनाहरुमा क्षति पुर्याएपछि यातायात, विद्युत, सञ्चार, खानेपानी लगायतका आधारभूत सेवा पनि प्रभावित भएका छन् । युनिटी प्रदेशका रुब्कोना र बेन्तीयु सहरमा पानीको सतह बढेर ढुवान भएकाले थप समस्या उत्पन्न भएको अधिकारीहरुले जनाएका छन् । बाढीका कारण हजारौँ मानिस विस्थापित समेत भएका छन् भने उनीहरूलाई विभिन्न अस्थायी शिविरहरुमा स्थानान्तरण गरिएको छ ।