ज्याला नपाउँदा मजदुरले दशैं मनाउन पाएनन्



कैलाली । बडादशैंको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ । यो पर्व मनाउन सबै आआफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् ।

तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन् ।


चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरु ज्यालाका लागि भौतारिनु पर्दा खल्लो महसुस भइरहेको त्यहाँका कामदार प्रेम आचार्य बताउँछन् । खुटिया–दीपायल फास्ट ट्रयाक (द्रुत मार्ग)को हाटखोली सडक खण्डमा काम गरेका झण्डै एक सय ५० मजदुरलाई निर्माण कम्पनीले अहिलेसम्म ज्याला रकम नदिएको उनले बताए ।

उनले भने, ‘निर्माण कम्पनीलाई ज्याला रकम उपलब्ध गराइदिन पटकपटक अनुरोध गर्दै आएका छौँ, तर निर्माण कम्पनीका प्रमुखले मजदुरको फोन उठाउनै छोड्दा ज्याला रकम डुब्ने चिन्तामा छौँ ।’

सोही क्षेत्रमा काम गर्ने रिकल घर्तीमगर पनि आफूहरुले पारिश्रमिक नै नपाएको बताउँछन् । उनी भन्छन्, ‘मजदुरले दैनिक काम गरेबापत पाउनुपर्ने रु दुई हजारदेखि ५० हजारसम्मको रकम लिन बाँकी छ । मजदुर खोजेर निर्माणको काममा लगाइदिने आफूसहितका चार जनाको झण्डै रु १६ लाख निर्माण कम्पनीले भुक्तानी दिएको छैन ।’

लामो प्रयासपछि ज्याला नपाएपछि निराश हुँदै कतिपय युवा कामदार कामको खोजीमा भारतको सिमलातर्फ हिँडेका छन् । यतिबेला स्याउ टिप्ने मौसम सुरु हुँदा काम पाउने आशामा मजदुर सिमलातर्फ गएको बताइएको छ । ज्याला रकम भुक्तानीमा सहयोग गरिदिन श्रम कार्यालय, वडा कार्यालय र प्रहरी निकायमा पुग्दा पनि आफूहरुको समस्या समाधान हुन नसकेको उनीहरुको गुनासो छ ।

मजदुरका समस्या बारेमा बुझ्न खोज्दा सडक निर्माणको ठेक्का पाएको अनिष्ठा निर्माण कम्पनीका रोशन आचार्यले टेलिफोनको सम्पर्कमा आएनन् । खुटिया–दीपायल फास्ट ट्रयाकको निर्माणको काम सङ्घीय सरकारको सडक विभाग मातहतको निकायबाट भइरहेको छ ।