जार र बोतलको पानीको मूल्य घट्यो



काठमाडौँ । सरकारले जार र बोतलमा बिक्री हुने पानीको मूल्य घटाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गरी पानीको नयाँ मूल्य तोकेको हो । नयाँ मूल्यअनुसार अब उपभोक्ताले अहिले बजारमा बिक्री भइरहेको भन्दा सस्तोमा जार र मिनिरल वाटर किन्न पाउने छ्न् ।

विभागले तोकेको नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा एक लिटरको बोतलमा भरिएको पानीलाई बढीमा १६ रुपैयाँमात्रै लिन पाइने छ । यस्तै २० लिटरको जारको पानीलाई ४७ रुपैयाँ नयाँ मूल्य तोकिएको छ ।


अहिले काठमाडौं उपत्यकामा एक लिटर पानी भरिएको बोतलको २० देखि ३० रुपैयाँ र २० लिटरको जार ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । तोकिएको मूल्यभन्दा महँगोमा पानी बिक्री गरेमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ । यस्तै विभागले तोकिएको मूल्यभन्दा महँगोमा पानी नकिन्न उपभोक्तालाई आग्रह गरेको छ ।