जसको खेल्ने मन र इच्छालाई उमेर छेकेन



कास्की । सङ्खुवासभाका खेलाडी धनबहादुर घले ६१ वर्ष पुगे । उनको उमेरले सकुशल आराम खोज्दैछ तर, उनी स्क्वासको ¥याकेट बोकेर अझै कोर्टमा भेटिन्छन् । उनको खेल्ने मन र इच्छालाई उमेर छेकेको छैन । यसैले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा प्रदेश नम्बर १ को प्रतिनिधित्व गर्दै खेल्न आएका छन् । उनी यस प्रतियोगिताको सबैभन्दा बढी उमेरका खेलाडी रहेका छन् ।

पोखरामा असोज २८ देखि सुरु भएको खेलकुदको कुम्भमेलामा भेला भएका छ हजार एक सय ५७ खेलाडीमध्ये घले सबैभन्दा पाका खेलाडी हुनु । विसं २०१८ वैशाख ५ गते सङ्खुभासभा खाँदबारी नगरपालिकामा जन्मिएका उनी उमेर छदासम्म सिङ्गापुर पुलिसमा सेवा गरेका छन् । सेवाकै क्रममा घलेले स्क्वास खेल्न सिकेको बताउन्छन् ।


सिङ्गापुरमा २६ वर्ष सात महिना सेवा गरेर उनले अवकाश लिएका हुन् । नेपाल आएर उनले धेरै ठाउँमा स्क्वास खेल्न खोजे तर, ठाउँ भेटेनन् । सातदोबाटो स्क्वास बनिसकेको थिएन । पूर्वमा पनि स्क्वासको भौतिक संरचना थिएन । उनी काठमाडौँ पुगेर साथी भाइसँग रमाइलोका लागि खेल्न थाले ।

उनको खेल निकै राम्रो थियो । उनको खेल कौशल थाहा पाएर नै उनलाई प्रदेश १ को स्क्वास सङ्घले आग्रह गरेपछि उनी पोखरा आएका हुन् । पूर्वमा खेलाडी अभाव भएको हुँदा सङ्घले नै अनुरोध गरेपछि प्रदेश एकलाई प्रतिनिधित्व गर्दै खेल्न आएको उनले बताए ।

उनी पहिलो खेलमा पराजित भए तर, उनलाई हार व्यहोर्नुपरेकोमा कुनै दुख छैन । नाती पुस्तासँग खेलेर हार्न पनि छुट्टै आनन्द हुने उनी सुनाउन्छन् । आफूहरुले पछिल्लो पुस्तालाई प्रेरणा र हौसला दिइरहनुपर्ने उनको धारणा छ । व्याक्तिगत प्रतिस्पर्धामा हारे पनि टिममा राम्रो गर्ने उनले बताए ।

उनीसँगै प्रदेश १ बाट ५७ वर्षका वीरबहादुर नेपाल पनि खेलाडी भएर पोखरा आएका छन्। घलेभन्दा चार वर्ष कान्छा नेपालले खेल्न मन भएपछि उमेर नछेक्ने बताए । पाँचौँ राष्ट्रिय खेलकुदबाट खेल्न सुरु गरेका उनी नवौँसम्म निरन्तर खेल्दै आएका छन् । पाँचौँ राष्ट्रिय खेलकुदमा रजत पदक, छैटौँ, सातौँ र आठौँमा कास्य पदक जितेका उनले जानकारी दिए । घले र नेपाल पाका खेलाडी भए पनि खेलमा उमेरले नछेकेको उनीहरुको भनाइ छ ।

घले र नेपालको खेल कौशलका कारण नै उनिहरुलाई छनोट गरेर पोखरा आएको प्रदेश नम्बर १ का स्क्वासका प्रशिक्षक अनिल बज्राचार्यले जानकारीदिए । “उमेर छिप्पिदै गएपनि उहाँहरुको खेलबाट म प्रभावित छु”, उनले भए, “हाम्रो प्रदेशमा स्क्वासका खेलाडी पनि कम छ । त्यसैले पनि उहाँहरुको खेल र खेल्ने इच्छाशक्तिका कारण लिएर आएको हुँ ।”