छठ पूजामा पुल भत्किदा ९० जनाको मृत्यु



गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९० जनाको मृत्यु भएको छ। आइतबार छठको समयमा मानिसको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो।

अहमदाबादबाट दुई सय किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजाको सन्दर्भमा केही अनुष्ठान गर्न जम्मा भएका करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो। पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेका छन्। फसेका केही मानिसको उद्दार गरिएको थियो।


मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेको स्थानीयले बताएका छन्। ७० जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो। यो अक्टोबर २६ मा पुनः खोलिएको थियो।

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन् । सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ ।