छठमा बागेश्वरी मन्दिरको तलाउ सजाइँदै



नेपालगञ्ज । नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा प्रत्येक वर्ष छठ पूजा गर्नेहरुको संख्या बढ्दै गएको छ । छठको रौनक बढेसँगै आज बागेश्वरी मन्दिर आसपास र तलाउको सजावट गरी झकिझकाउ बनाउने कार्य भइरहेको छठ पूजा समितिका संयोजक जितेन्द्रकुमार सिंहले बताए ।

भोलि छठ पर्वको मुख्य दिन हो । व्रतालुहरुले भोलि आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिनेछन् । सिंहका अनुसार हाल तलाउ छेउमा टेण्ट, बिजुली बत्तीको सजावट, बाजागाजा, सांस्कृतिक भजन मञ्चको व्यवस्थापन र सरसफाइको काम बिहानैदेखि सुरु भइसकेको छ ।


बागेश्वरी मन्दिर पार्कमा भजनसहितको सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । भारतको कलकत्ताबाट आएका गायिका दीपिका ओझा र गायक विशाल ओझासहित नौ जनाको समूहले राति छठीमाताको भजन गीतसङ्गीतको कार्यक्रम गर्ने संयोजक सिंहले बताए । सांस्कृतिक कार्यक्रम आइतबार साँझदेखि सोमबार बिहानसम्म हुनेछ ।

पहिले पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक पश्चिममा पनि बढेको साहित्यकार तथा पूर्वप्राज्ञ सनत रेग्मी बताउछन् । नेपालगञ्जको रानीतलाउका साथै अन्य तालमा पनि छठको रौनक बढेको छ ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुले नुहाएर चोखो एवम् अरवा अरवाइन खाने चलन छ भने दोस्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने चलन छ । साथै, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ ।