युक्रेनमा रुसी सेनाका कमान्डरले त्यहाँको दक्षिणी सहर खेअरसनको अवस्था कठिन रहेको र त्यहाँका बासिन्दाहरूलाई स्थानान्तरण गरिने बताएका छन् ।
जनरल सर्गेई सुरोभिकिनले युक्रेनी सेनाले हिमर्स रकेटहरू प्रयोग गरेर उक्त सहरको पूर्वाधार र आवासीय भवनहरूमा प्रहार गरिरहेको बताए। उनले रुसको सरकार सञ्चालित टेलिभिजनमार्फत् उक्त जानकारी दिएका हुन् ।
रुसी सेनाले प्राथमिक रूपमा खेअरसन क्षेत्रमा बस्ने मानिसहरूको सुरक्षित निकासी सुनिश्चित गर्ने उनले बताए । रुसीहरूद्वारा नियुक्त क्षेत्रीय अधिकारी किरिल स्ट्रेमोसोभले खेअरसनका बासिन्दाहरूलाई निकट भविष्यमा युक्रेनी सेनाले सहरमा आक्रमण गर्न सक्ने चेतावनी दिए ।
उनले निपर नदीको पश्चिमी किनारमा अवस्थित, युक्रेनमा निप्रो भनिने क्षेत्रमा मानिसहरू सबैभन्दा बढी जोखिममा रहेको बताएका थिए । उक्त क्षेत्रमा रुसले नियुक्त गरेका गभर्नर भ्लादिमिर साल्डोले एक भिडिओ सन्देशमार्फत् उक्त कुरा पुष्टि गरेका हुन् ।
फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गरेपछि खेअरसन रुसीहरूले कब्जा गरेको पहिलो ठूलो सहर थियो । युक्रेनी सेनाले विगत केही सातादेखि त्यहाँ नजिकैको भूभागहरूलाई बिस्तारै पुनः आफ्नो नियन्त्रणमा लिँदै आएको छ ।
उनीहरूले रुसी सेनालाई फसाउने धम्की दिँदै निपर हुँदै ३० किलोमिटर दक्षिणतिर अघि बढेका छन् । जनरल सुरोभिकिनले युक्रेनी क्षेप्यास्त्रको सङ्गठित आक्रमणले खेअरसनस्थित आन्टोनिभ्स्की पुल र काखोभा जलविद्युतको बाँधमा क्षति पुगेको र यी दुई महत्वपूर्ण स्थानहरूमा आवागमन अवरुद्ध भएको बताए ।
जसका कारण खाद्यान्न वितरण, पानी र विद्युतजस्ता अत्यावश्यक सेवाहरूको आपूर्तिमा समस्या सिर्जना भएको उनले जानकारी दिए।