गृृहमन्त्रीको निर्देशनपछि कालीकोट विष्फोटका घाइतेको हेलिकप्टरबाट उद्धार



काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।


गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइतेको उद्धार गरी सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । त्यहाँ विष्फोटक पदार्थ पड्किँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको उपचारका क्रममा मृत्यु भएको प्रजिअ शर्माले जानकारी दिनुभयो । घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

घटना आज बिहान ८ बजेको हो । बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको प्रजिअ शर्माले बताए । उनका अनुसार कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको छ ।