गुर्जा गाउँमा विद्युत् सेवा अवरुद्ध



म्याग्दी । बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ अन्धकार बनेको छ । यही असोज १८ देखि २२ गतेसम्मको निरन्तरको झरीपछि आएको बाढीले ३५ किलोवाट क्षमताको इङलेखोला लघुजलविद्युत् परियोजनाको नहर बगाएको हो ।

मुहानमा करिब १५ मिटर नहर बाढीले बगाएपछि परियोजना बन्द हुँदा गुर्जा गाउँ अन्धकार बनेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । परियोजना बन्द हुँदा दुई सय ५० घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । मोबाइल फोन सेवासमेत अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ ।


झरीसँगै गुर्जा आसपासका डाँडामा हिमपात भएर सेताम्मे बनेको वडाध्यक्ष छन्त्यालले बताए । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बाहुल्य बसोबास रहेको गुर्जा म्याग्दीको सबैभन्दा विकट र दुर्गम बस्ती हो । हालसम्म सडक यातायातको सुविधा नभएको गुर्जा पुग्न छिमेकी गाउँ लुलाङबाट पूरै दिन पैदलयात्रा गर्नुपर्छ ।