काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउने दाबी गरेका हुन् ।
उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरुले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिवद्धता जनाए । महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारुढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे । जनमतको कदर हुने गरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उनको भनाई थियो ।
उनले भने, ‘गएको पाँच वर्ष खेर गयो । अवको पाँच वर्ष खेर जान दिनु हुन्न । त्यो जान नदिने जिम्मेवारी हाम्रो हो । मैले त नेताहरुलाई भनेको छु–पाँच वर्ष पनि होइन । गठबन्धनले त जित्यो, जित्यो अब । संघमा पनि जित्यो, सात वटै प्रदेशमा पनि जित्यो ।’
महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको र त्यसका लागि पार्टी भित्रका साथीहरुले आफूलाई साथ दिनुपर्ने बताए ।