काठमाडौँ । रामेछापको खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा २८ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
सत्याल र थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेकसहित बुधवार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा खटिएको अख्तियारको केन्द्रीय कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूले रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत रकम लिएको खुलेको अख्तियारले जनाएको छ ।
उनीहरूलाई चेक र रकम लिइसकेको अवस्थामा इन्जिनियरको निवास रहेको खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।