‘क्वान्टम मेकानिक्स’बारे अध्ययन गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार



यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ’क्वान्टम मेकानिक्स’बारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । ’क्वान्टम मेकानिक्स’ सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो ।

यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले आपसमा बराबरी रूपमा बाँड्नेछन् । पुरस्कारको राशि एक करोड स्वीडिश क्रोनर छ । गत वर्ष पनि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरूलाई नै दिइएको थियो ।


यस वर्षको पुरस्कार विजेताहरूले जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर नवीन खोजहरू सञ्चालन गरेका थिए । उक्त खोजले दुई उप–पारमाणविक कणहरू छुट्टिए पनि तीनले एउटै एकाइको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ । त्यो प्रयोगको नतिजाले क्वान्टम जानकारीमा आधारित नयाँ प्रविधिका लागि बाटो खोली दिएको छ ।

फ्रान्सेली नागरिक ७५ वर्षीय अलाँ आस्पेय युनिभर्सिटी प्यारिस–सेक्ले र इकोले पोलिटेक्निकसँग सम्बद्ध छन् । अमेरिकी नागरिक ७९ वर्षीय जोन क्लअसन क्यालिफोर्नियामा आफ्नै कम्पनी चलाउँछन् । ७७ वर्षका एन्टोन साइलिङ्गर चाहिँ भियना विश्वविद्यालयमा संलग्न छन्।

यी तीन जनाले सन् २०१० मा पनि सँगै वुल्फ पुरस्कार जितेका थिए । चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकास क्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्भान्ट पेयर्बुलाई प्रदान गर्ने घोषणा सोमबार गरिएको थियो।