किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता



टीकापुर । कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन् ।

पाकेर काट्ने अवस्थामा पुगेको धान भारी वर्षा भएमा नोक्सान हुन सक्ने पीरले सताएको जानकी गाउँपालिकाका किसान रामसुन्दर चौधरीले बताए । ‘गत वर्ष चार बिघा खेतमा रहेको धान बाढीमा मिसियो, यस वर्ष पनि धान पाकेको छ । १० कट्ठा जमिनमा रहेको धान काटिसकेका छौँ, बाँकी काट्न बाँकी छ’, उनले भने, ‘वर्षभरिको मेहनत बारीमा छ, कसरी दशैँ मनाउनु ? अब वर्षा भएमा पाकेको धान नोक्सान हुनेछ ।’


मंगलबारदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार १८ गतेदेखि दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

प्रशासनको सूचनापछि धान काट्न सुरु गरेका जानकीकै किसान रमेश चौधरीले धान काट्न रोकेका छन् । ‘धान काट्न त रोकियो, तर खल्ला खेत हो । वर्षा भएमा जलमग्न हुन्छ’, उनले भने, ‘पाकेको धान खेतमै सड्ला कि भन्ने चिन्ता बढेको छ । पानी परेपछि एक सातासम्म खेत सुक्न समय लाग्छ । धान पाकेर झर्लाजस्तो भइसकेको छ ।’

टीकापुर–५ का किसान कृष्णा रावतले पनि मौसमकै सूचनाअनुसार धान काट्नुभएको छैन । कृष्णाको गत वर्ष कात्तिक २ गते आएको बाढीले दुई बिघा धान बगाएको थियो । ‘गत वर्ष धान देख्न पाइएन, यस वर्ष पाकेर पहेँलै भएको छ तर काटौँ भने मौसम यस्तो छ । नकाटौँ पानीले नोक्सान गर्ने डर छ । किसानले केही गरे सुख नपाउने भए । मेहनत गरेर लगाएको बाली स्याहार्न पनि मौसमले नदिने भयो’, उनले भने ।