कास्कीमा कांग्रेसको सम्पूर्ण क्रियाशिल सदस्य रहेको प्रचारप्रसार समिति गठन



कास्की । नेपाली कांग्रेस कास्कीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी पार्टीका तर्फबाट २२ हजार एक सदस्यीय मूल प्रचारप्रसार समिति गठन गरेको छ ।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको सभापतित्वमा साेमबार बसेको बैठकले पार्टीको तर्फबाट क्षेत्रीय सभापतिहरू र पोखरा महानगर सभापति सहसंयोजक रहनेगरी पार्टीका सम्पूर्ण क्रियाशिल सदस्यहरू रहेको प्रचारप्रसार समिति गठन गरिएको कास्की कांग्रेसका प्रवक्ता विश्वशङ्कर पालिखेले जानकारी दिए ।


 निर्वाचनकै सम्बन्धमा सचिव भानुभक्त ढकालको संयोजकत्वमा रामजी कोइराला, मनबहादुर लाम्गादे, निर्मला कार्की भण्डारी सदस्य रहेकाे सचिवालय समिति गठन गरिएको छ । जिल्ला कोषाध्यक्ष माइकल कर्माचार्यको संयोजकत्वमा अर्थ उपसमिति गठन गरिएको छ । बैठकले घोषणापत्र तयारीका लागि प्राध्यापक पद्यशरण रेग्मी, कपिलमणि दाहाल र दिपेन्द्र ढकाललाई जिम्मेवारी दिएको छ । कानुनी पराशर्मका लागि निवर्तमान जिल्ला सदस्य कृष्ण तिमिल्सिना संयोजकको समितिलाई जिम्मेवारी दिइएको छ ।

बैठकले निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अनावश्यक भ्रम छर्ने गतिविधिमा संलग्न नहुन पार्टीका सबै क्रियाशिल सदस्य एवम् शुभेच्छुकहरूलाई अनुरोध गर्दै पार्टी निर्णय विपरीत उम्मेदवारी दर्ता गरेका पार्टीका जिम्मेवार नेता कार्यकर्तालाई तत्काल उम्मेदवारी फिर्ता लिन अपिल गरेको छ ।

 बैठकले कांग्रेस कास्कीका जिल्ला सदस्य सुदीप गौतमको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।  यसैबीच कास्कीमा क्रियाशिल पाँच दलीय गठबन्धनको बैठक नेपाली कांग्रेस कास्कीको पार्टी कार्यलयमा सम्पन्न भएको छ । बैठकले कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको संयोजकत्वमा र गठबन्धनका दलको सहसंयोजकत्वमा क्षेत्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको कास्की कांग्रेसका सहसचिव नविन सिग्देलले जानकारी दिए ।

बैठकले कास्कीका सबै वडामा संयुक्त निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको र कांग्रेसको पार्टी कार्यालयलाई गठबन्धन दलको मुख्य निर्वाचन परिचालन सचिवालय बनाउने निर्णय गरेको छ ।