काभ्रेको दुवै क्षेत्रमा एमाले र गठबन्धन उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा



काभ्रेपलाञ्चाेक । प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवार अहिले नगरका विभिन्न भागमा कोणसभामा जुटेका छन् । प्रत्यक्षतर्फ गत कात्तिक २६ गते अन्तिम नामावली प्रकाशन भएलगत्तै नगरमा भेटघाट र घरदैलो थालेका सत्तारुढ गठबन्धन दल तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवार हाल ग्रामीण भेगमा पनि केन्द्रित भएका छन् । केही साना दल र स्वतन्त्र उम्मेदवार पनि भेटघाटमै व्यस्त देखिन्छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आउन तीन हप्ता बाँकी भएसँगै चुनावी रमझम पनि निकै बढेको पाइएको छ । जिल्लाका आम मतदाताको ध्यान प्रतिनिधि सभा क्षेत्र नं १ र २ का उम्मेदवारमा केन्द्रित भएको छ । निर्वाचनमा सत्तारुढ गठबन्धन तथा प्रमुख प्रतिपक्षी एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।


जिल्लाभर प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि चार निर्वाचन क्षेत्र कायम गरिएको छ । प्रतिनिधि सभाका लागि क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री सूर्यमान दोङ र एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री रेशम लामाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

विसं २०४४ मा नेकपा (मसाल)बाट राजनीतिक यात्रा शुरू गरेका दोङले तत्कालीन नेकपा माओवादीको १० वर्षे सशस्त्र युद्धमा सहभागी हुँदै पार्टीका विभिन्न तहको नेतृत्व गरेका थिए । गठबन्धनमा माओवादीलाई उक्त क्षेत्र भागमा परेपछि पार्टीले उनलाई उम्मेदवार बनाएको हो । 

२०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा दोङ कांग्रेसका मधुप्रसाद आचार्य र एमालेका संग्रामजीत लामालाई पराजित गर्दै निर्वाचित भएकामा  २०७० सालकोे दोस्रोपटक संविधान सभा सदस्यको निर्वाचनमा भने नेपाली काग्रेसका तीर्थ लामासँग पराजित हुनुप¥यो । 

विसं २०४७ देखि विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गरेका लामालाई अहिले एमालेले गठबन्धनका उम्मेदवार दोङसँग प्रतिस्पर्धामा उतारेको छ । राप्रपा, राप्रपा नेपालको विभिन्न तहको नेतृत्व गर्दै २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका  लामा केही वर्षअघि मात्रै एमाले प्रवेश गरेका थिए । 

यो क्षेत्रमा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमाले अघिल्ला निर्वाचनमा पराजित भएकामा अहिले १ नं क्षेत्रमा विजेता बन्ने दौडमा लागेको जिकिर गरिरहेको छ भने गठबन्धनका दलहरू पनि आफ्नो विरासत जोगाउन लागिपरेको छ । उक्त क्षेत्रमा पाँच स्वतन्त्रसहित १७ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वजिल्ला सभापति शिवप्रसाद हुमागाईं र एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उम्मेदवारीपछि यस क्षेत्रका मतदाताले विशेष चासोका रुपमा लिएका छन्  ।

दुवैले जिल्लामा पार्टीको नेतृत्व गरेको, केन्द्र र जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । २०३६ सालमा भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा शुरु गरेका गठबन्धनका उम्मेदवार हुमागाईंले पार्टीका विभिन्न भातृ संगठन हुँदै चार पटकसम्म पार्टीको जिल्ला नेतृत्व गरेका थिए । 

२०५६ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा हुमागाईं जिल्लाको तत्कालीन २ नं क्षेत्रबाट निर्वाचित भएका थिए । यसैगरी २०३८ सालमा विद्यार्थी संगठनबाट राजनीतिक यात्रा शुरु गरेका बाँस्कोटा विभिन्न भातृ संगठन तथा पार्टीको जिल्ला नेतृत्व गर्दै हाल पोलिटब्यूरो सदस्य छन् । 

विसं २०७० को संविधानसभा सदस्यमा कांग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादे श्रेष्ठसँग पराजित बाँस्कोटा २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गरी मन्त्रीसमेत भएका थिए । 

अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी भएका बाँस्कोटाको विरासत तोड्न गठबन्धन दल चुनावी रणनीति बनाएर अघि बढेको छ । 

प्रतिनिधि सभा क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा छन् । उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलिप लामा र चन्द्र लामा छन् । 

यसैगरी प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ मा गठबन्धनका उम्मेदवार एकीकृत (समाजवादी)का लक्ष्मण लम्साल र कांग्रेसका कञ्चनचन्द्र वादे श्रेष्ठ छन् । उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेल र कुमार थापा छन् ।

काभ्रेपलाञ्चोकमा छ पदका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएकामा  दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल जिल्लामा एकतीस दल क्रियाशील छन् । 

जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने छन् । एक सय ९० मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।