काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले भूउपयोग कार्यान्वयन उपसमिति गठन गरी कृषि र गैरकृषि गरी जमिनलाई दुई क्षेत्रमा छुट्याउने भएको छ । बुधबार कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको भूउपयोग कार्यान्वयन समितिको संयुक्त बैठकले उपसमिति गठन गरेको हो ।
गठित उपसमितिमा वडाध्यक्ष संयोजक रहने र वडासदस्य सदस्य रहनेछन् । बैठकले उपसमितिलाई आफ्नो वडामा भएको जमिनलाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्ने जिम्मेवारी दिइएको छ । भूउपयोग ऐन, २०७६ को व्यवस्थाअनुसार पालिकाका प्रमुखको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहनेछन् ।
कामपाको यसअघि भएको आठौँ कार्यपालिका बैठकले नानीबाबु दाहाल, चन्द्रप्रसाद घिमिरे, बिना बुद्धाचार्य र रजनी दाहाललाई कार्यान्वयन समितिको सदस्यसहित समिति गठन गरिसकेको छ ।
कार्यक्रममा प्रमुख साहले उपसमितिमार्फत तत्कालका लागि जमिनलाई कृषि र गैरकृषि गरी दुई क्षेत्र छुट्याउन आग्रह गरे । कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कार्यान्वयन उपसमितिबाट आएको सिफारिसबारेमा कार्यान्वयन समितिमा छलफल गरिने र कार्यान्वयन समितिबाट पेश भएको अवस्थाका विषयमा स्थानीय भूउपयोग परिषद्मा छलफल गरेर निर्णय हुने बताए ।
ऐनमा सांस्कृतिक तथा पुरातात्विक महत्व क्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, नदी खोला, ताल, सिमसार क्षेत्र, व्यावसायिक र आवासीय क्षेत्र गरी जमिनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गर्ने प्रबन्ध पनि गरेको छ ।