कांग्रेसद्वारा समानुपातिक बन्दसूची हेरफेर, कोइराला पक्षलाई २५ प्रतिशत



काठमाडौँ । नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार पार्टीभित्र सहमति निर्माण गरेर बन्दसूची संशोधन गरिएको हाे ।

निर्वाचन आयोगले बन्दसूचीमाथि हेरफेरका लागि आइतबारसम्म समय दिएको थियो । सोही समयमा कांग्रेसले असोज ३ मा पेस गरेको बन्दसूची संशोधन गरेको हो ।


कांग्रेसमा नेता शेखर कोइराला पक्षले यसअघि समानुपातिकमा एकलौटी गरिएको भन्दै विरोधमा उत्रिएको थियो । कोइराला पक्षका दोस्रो र तेस्रो तहका नेताहरूले समानुपातिक बन्दसूची सच्याउन माग गर्दै खबरदारी भेला, बैठक र धर्नासम्म गरेका थिए ।

एक नेताका अनुसार सहमतिअनुसार समानुपातिकमा २५ प्रतिशत हिस्सा कोइराला पक्षले पाएको छ । यसअघि ४० प्रतिशत पाउनुपर्ने कोइराला पक्षले बताउँदै आएको थियो । तर, देउवाले कोइराला पक्षलाई २५ प्रतिशत दिएपछि रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्न सहमत भएको ती नेताले बताए ।

उक्त सहमति भएसँगै आइतबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेल, सचिवद्वय प्रेम केसी र कृष्णप्रसाद दुलाल निर्वाचन आयोग पुगेर समानुपाति बन्दसूची हेरफेर गरेका छन् ।